राष्ट्रियसभा सदस्य निर्वाचन: गण्डकीमा ८ जनाको उम्मेदवारी दर्ता

कास्की । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यका लागि गण्डकी प्रदेशमा ३ पदका ८ जनाको उम्मेदवारी दर्ता भएको छ । गण्डकीमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी र राप्रपाका उम्मेदवारले उम्मेदवारी दिएको निर्वाचन कार्यालय गण्डकीका निमित्त प्रमुख रुद्र न्यौपानेले बताउनु भयो ।
गण्डकी प्रदेशबाट ३ सदस्य निर्वाचित हुनेमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसबाट २ पद कांग्रेस र माओवादीबाट १ पदमा उम्मेदवारी दिएका छन् । काँग्रेसबाट गोरखाका किरणबाबु श्रेष्ठ र काँग्रेसबाट अपाङ्गताबाट पदमबहादुर परियारले उम्मेदवारी दर्ता गराए । त्यसै गरी माओवादीबाट पर्वतकी मनरुपा शर्मा उम्मेदवार भएकी छन् ।
यसैगरी नेकपा एमालेबाट गण्डकी प्रदेशमा गोरखाकी सम्झना देवकोटा, स्याङ्जाका चक्रबहादुर पराजुली र मुस्ताङका हेमचन्द्र शेरचन थकाली उम्मेदवार बनेका छन् ।

राप्रपाबाट गण्डकीमा महिलाबाट तनहुँकी गौमाया श्रेष्ठ र कास्कीका रोमबहादुर भण्डारीलाई उम्मेदवारी दिएका छन् ।
गण्डकीबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित प्रकाश पन्थ र दीपा गुरुङको ६ वर्षे कार्यकाल सकिँदै छ । यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुन् ।
गण्डकीमा नेपालकी काँग्रेसको २ हजार ७ सय ४ मतभार हुन्छ । त्यसै गरी नेकपा एमालेको २ हजार ४ सय ५८, माओवादीको ९ सय ९४, राप्रपाको १ सय ६, समाजवादीको ७२, राष्ट्रिय जनमोर्चाको ५७ र स्वतन्त्र उम्मेदवारको १९ मतभार रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्