तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा निर्वाचन: सुदूरपश्चिम प्रदेशमा प्रमुख राजनैतिक दलका ६ जनाद्वारा उम्मेदवारी

धनगढी । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा प्रमुख राजनैतिक दलका ६ जनाले मनोनयन पत्र (उम्मेदवारी) दर्ता गराउनुभएको छ ।

धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रमुख राजनैतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले मनोनयनपत्र (उम्मेदवारी) दर्ता गराउनुभएको हो ।

सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले सुदूरपश्चिम प्रदेशमा महिला, अन्य र अल्पसंख्यक र अपाङ्गतातर्फ गरी तीन पदका लागि विभिन्न राजनैतिक दलका ६ जनाले उम्मेदवारी दर्ता गराउनुभएको बताउनुभयो । अहिलेसम्म ६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको र दर्ताको समय बिहान १०ः०० बजेबाट शुरु भई दिउसो ३ः०० बजेसम्म रहेको भट्टले बताउनुभयो ।

उहाँले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि अन्यतर्फ नेपाली काँग्रेसका बलदेव बोहरा र नेकपा एमालेका ईश्वरी प्रसाद खरेलले उम्मेदवारी दिनुभएको बताउनुभयो ।

यस्तै, अपाङ्गतातर्फ नेपाली काँग्रेसका नारायणदत्त भट्ट र नेकपा एमालेका रामचन्द्र जोशी तथा महिलातर्फ नेकपा एमालेका सावित्रा घिमिरे र नेकपा माओवादी केन्द्रका रेनु चन्दले उम्मेदवारी दर्ता गराउनुभएको उहाँले बताउनुभयो ।

बोहरा संविधानसभा सदस्य, जिविस कंचनपुरका पूर्व सभापति तथा काँग्रेसका पुराना नेता हुनुहुन्छ भने खरेल नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य रहनुभएको छ ।

यस्तै चन्द नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य र घिमिरे अखिल नेपाल महिला संघका पूर्व केन्द्रीय सदस्य तथा भट्ट नेपाली काँग्रेस कैलालीका सभापति र जोशी नेकपा एमाले कैलालीका सचिवालय सदस्य हुनुहुन्छ ।

सूदूरपश्चिम प्रदेशमा काँग्रेस माओवादी केन्द्र (सत्ता गठबन्धन) साझा उम्मेदवार र एमाले एक्लै राष्ट्रियसभा सदस्य निर्वाचनमा होमिएका छन्।

राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रम अन्तर्गत पुस २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ ११ गते मतदान गर्ने कार्यतालिका रहेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था रहेको छ ।

कुल २ सय २८ मतदाता रहेको सुदूरपश्चिम प्रदेशमा ५२ जना प्रदेशसभा सदस्य र १ सय ७६ जना स्थानीय तहका(प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष) जनप्रतिनिधिले मतदान गर्नेछन् ।

राष्ट्रियसभा सदस्य निर्वाचन २०८० अन्तर्गत यसपाली प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार १९ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button