चितवनका भुजेल फिफा रेफ्रीको सूचीमा
चितवन । चितवनका रेफ्री प्रकाश भुजेल सन् २०२४ का लागि नेपालबाट फिफा रेफ्रीको सूचीमा पर्नुभएको छ । फिफाले सन् २०२४ को लागि जारी गरेको फिफा रेफ्रीको सूचीमा भुजेलसहित नेपालबाट १२ जना पर्नुभएको हो ।

अघिल्लो वर्ष पनि नेपालबाट १२ जनाले फिफा रेफ्री प्राप्त गर्नु भएको थियो । जसमध्ये ८ जनाले यस वर्ष पनि निरन्तरता पाउनु भएको हो । चार जना भने नयाँ थपिएका छन् । जसमा भुजेल सन् २०२४ का लागि नेपालबाट फिफा सहायक रेफ्रीको सूचीमा पर्नुभएको हो ।
सन् २०२४ का लागि नेपालबाट झापाका श्याम दनुवारले फिफा रेफ्री प्राप्त गरेका छन् । उनले फिफा सूचीबाट बाहिरिएका प्रकाशनाथ श्रेष्ठको स्थान लिएका हुन् । सन् २०२४ का लागि फिफा सहायक रेफ्रीमा भुजेलसँगै मेरिना धिमाल र हरिस कार्की पनि परेका छन् ।
चितवनका भुजेल र काठमाडौँका कार्कीले सहायक रेफ्रीमा क्रमशः स्वर्गीय विक्रम चौधरी र अमेरिका गएका युनाल मल्लको स्थान लिएका हुन् । महिलातर्फ राधिका शाख्यको स्थानमा एपीएफकी मेरिना धिमालले फिफा सहायक रेफ्री प्राप्त गरेकी हुन् ।
फिफा रेफ्रीमा प्रज्वल क्षेत्री नवीन र महर्जन र कवीन व्यञ्जनकारले यस वर्ष पनि निरन्तरता पाएका छन् । यस्तै महिलातर्फ अन्जना राईले यस वर्ष पनि निरन्तरता पाएकी छन् । सहायक रेफ्रीमा नानीराम थापा माधव खत्री, किशन कनैया यादव र सहदेव श्रेष्ठले निरन्तरता पाएका छन् ।
भुजेल २०६७ सालमा रेफ्री कोर्स लिएर एन्फा रेफ्री बनेका थिए । २०७१ मा राष्ट्रिय रेफ्री बनेका भुजेल रेफ्रीको यात्रा सुरु गरेको १३ वर्षमा फिफा रेफ्री बनेका हुन् । लामो समयको अथक मेहेनत र लगनशीलताका कारण फिफा रेफ्री प्राप्त गरेको भन्दै भुजेलले खुशी व्यक्त गरे । फिफामा जाने हरेक रेफ्रीको सपना र लक्ष्य हुने भन्दै उनले आफ्नो सपना पुरा भएको बताए ।
चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले लामो समयपछि चितवनले फिफा रेफ्री पाएको भन्दै खुशी व्यक्त गरे । यो समग्र चितवनकै लागि गर्वको विषय भएको कार्कीको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्