तपाईँ सुन्दै हुनुहुन्छः

दक्षिण एशियाको व्यापार अवस्थाबारे दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ ।  विश्व व्यापार सङ्गठन(डब्लुटिओ) चेयर्स प्रोग्राम नेपाल र काठमाडौँ विश्वविद्यालयको आयोजनामा आजदेखि यहाँ दुई दिने ‘डब्लुसिपी नेपाल(एआइबी साउथ एशिया कन्फ्रेन्स, २०२४’ सुरु भएको छ । 

विश्व व्यापारमा दक्षिण एशियाको प्रतिस्पर्धीपन, आपूर्ति शृङ्खला र वातावरणीय तथा सामाजिक पक्ष (ग्लोबल ट्रेड एण्ड साउथ एशियाः कम्पिटेटिभनेस, भ्यालु चेन एण्ड इएसजी) विषयमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना भएको हो । 

सम्मेलनलाई सम्बोधन गर्नुहुँदै काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक अच्युत वाग्लेले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने चरणमा रहेको सन्दर्भमा नेपालले फरक खालको वाणिज्य नीति अवलम्बन गरिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । 

नेपालले विश्वबजारमा प्रतिस्पर्धाका लागि अग्र र पृष्ठपोषणसहितको वस्तु उत्पादनमा जोड दिनुपर्ने उहाँको भनाइ छ । एआइवि–एसएसी एक्जुकेटिभ बोर्डका अध्यक्ष प्राध्यापक एस रघुनाथले दक्षिण एशियाली मुलुकको वैदेशिक व्यापारसँग सम्बन्धित नीति निर्माणमा यस सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । 

सहज आपूर्ति शृङ्खला निर्माण गर्न विश्वव्यापीरुपमा एक अर्का देशबीच अन्तर निर्भरता रहेको भन्दै उहाँले सबैको समान सहभागिता र योगदान आवश्यक रहने उल्लेख गर्नुभयो । स्थानीय स्तरको उत्पादन प्रवद्र्धनमा नवप्रवर्तन तथा बौद्धिक अधिकारको अधिकतम प्रयोगमा उहाँले जोड दिनुभयो । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले नेपालको वैदेशिक व्यापारलाई सन्तुलित रुपमा अगाडि बढाउन देखिएको नीतिगत खाडललाई पुर्नका लागि अनुसन्धानकर्ता तथा अध्येताबाट आउने सुझावलाई सरकारले सकारात्मक रुपमा लिने र आवश्यकताअनुसार ती सुझाव कार्यान्वयनका लागि पहलसमेत गर्ने बताउनुभयो । 

प्रभावकारी नीति निर्माणका लागि विभिन्न क्षेत्रको विज्ञता आवश्यकपर्ने सचिव दुवाडीको भनाइ छ । विश्वव्यापी आपूर्ति शृङ्खला निर्माण तथा नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन आवश्यक नीतिगत, संरचनागत र कार्यान्वयन तहमा देखिएका समस्या समाधानका लागि उहाँले आवश्यकता औँल्याउनुभयो । 

नेपालले अतिकम विकसित मुलुकबाट स्तरोन्नति पछि व्यापार क्षेत्रमा गुमाउने विभिन्न सुविधाको व्यवस्थापनका लागि रणनीतिक रुपमा काम गरिरहेको सचिव दुवाडीको भनाइ थियो । दिगो विकास लक्ष्य प्राप्तिका लागि आन्तरिक उत्पादकत्व बढाएर प्रतिस्पर्धी बजार निर्माण गरिनुपर्ने उहाँको जोड छ । 

संयुक्त राष्ट्रसङ्घको जेनेभास्थित स्थायी नियोगका लागि नेपाली राजदूत रामप्रसाद सुवेदीले वैदेशिक व्यापार विकास र समृद्धिको इञ्जिन रहेको उल्लेख गर्नुहुँदै दक्षिण एशिया विश्व बजारको ठूलो हिस्सा रहेको बताउनुभयो ।

नेपाललगायत देशले बेहोरिरहेको उच्च व्यापार घाटाको समस्या समाधानका लागि उत्पादन र बजारको विविधीकरण गरिनुपर्नेमा उहाँको जोड छ । 

दक्षिण एशियाका नेपाल र बङ्गलादेश अतिकम विकसित मुलुकबाट सँगसँगै स्तरोन्नति भइरहेकामा स्तरोन्नति पछि पनि व्यापारका क्षेत्रमा अहिले पाइरहेका शून्य भन्सारलगायत सुविधा (ड्युटी फ्रि, कोटा फ्रि)को निरन्तरताका लागि संयुक्त राष्ट्रसङ्घमा विभिन्न तहको छलफल भइरहेको राजदूत सुवेदीले बताउनुभयो । पुँजी निर्माण गर्नसके आयात व्यवस्थापनमा सहज हुने उहाँको भनाइ छ । 

सुवेदीले नेपालको वाणिज्य नीतिलाई समयसापेक्ष बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । विश्व व्यापार सङ्गठन (डल्बुटिओ)का सह–महाप्रबन्धक सियाङचेन झाङले विश्व व्यापारमा सहजीकरणका लागि विभिन्न क्षेत्र र तहसँग क्षमता विकासका लागि काम भइरहेको बताउनुभयो । पछिल्लो समय विश्व व्यापारको परिदृश्यमा परिवर्तन भइरहेको सन्दर्भलाई जोड्दै उहाँले अतिकम विकसित मुलुकको व्यापारसँग सम्बन्धित सुविधाको निरन्तरताका लागि पहल गरिनेसमेत प्रतिबद्धता जनाउनुभयो । 

जलवायु परिवर्तन र वातावरणीय जोखिम न्यूनीकरणसँग सम्बन्धित मुद्दालाई विश्व समुदायले नै गम्भीरताका साथ लिनुपर्ने पनि उहाँको भनाइ छ । 

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा भोला थापाले क्षेत्रीय स्तर र विश्वबजारमा समेत व्यापारका आयाम परिवर्तन भइरहेको र त्यसले नेपालजस्ता आयातमा निर्भर र सानो अर्थतन्त्र भएका मुलुक बढी प्रभावित भइरहेको उल्लेख गर्नुभयो । 

यस्तो समस्या समाधानका लागि सबैको प्रयास आवश्यक रहेको उहाँको भनाइ छ । न्यून उत्पादनका कारण नेपालको निर्यात पक्ष निकै कमजोर रहेको तथा नेपालले डब्लुटिओका सुविधाको पर्याप्त लाभ लिन नसकेको थापाले बताउनुभयो । अनुसन्धान र आपसी छलफलले राम्रो नीति निर्माणका लागि योगदान गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । 

भारतीय विदेश व्यापार संस्थान, कोलकात्ता क्याम्पसका प्रमुख प्राध्यापक के रङ्गराजनले दक्षिण एशिया क्षेत्रमा उच्च जनसाङ्ख्यकीय लाभ रहे पनि व्यापारका क्षेत्रमा उचित लाभ लिन नसकेको बताउनुभयो । 

दक्षिण एशियाले क्षेत्रीय र विश्व व्यापारमा विभिन्न चुनौतीको सामना गरिरहेको उल्लेख गर्नुहुँदै नवीनतम् प्रविधिको उच्चतम प्रयोगबाट यस क्षेत्रका उत्पादनलाई विश्वबजारमा पुर्‍याउन सकिने सम्भावनालाई गम्भीरताका लागि लिनुपर्ने उहाँको भनाइ छ । 

एशोसिएसन अफ इन्डियन युनिभर्सिटीजको महासचिव डा पङ्कज मित्तलले शैक्षिक अध्ययनका विभिन्न कार्यक्रमका माध्यमबाट अन्तरदेशीय आबद्धता कायम गर्न सकिने बताउनुभयो । 

सम्मेलनमा विभिन्न सात देशका ६० भन्दा धेरै विज्ञ, अनुसन्धानदाता, प्राज्ञिक व्यक्तित्वको सहभागिता छ । दुई दिने सम्मेलनमा विभिन्न विषयमा शोधपत्र प्रस्तुत हुनेछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button