तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा रंगशालाको फुटबल मैदानको दुवो मर्दै, पानी नहालेको ६ महिना भयो

पोखरा । पोखरा रंगशालाको फुटबल मैदानको दुवो मर्दै गएको छ । फुटबल मैदानमा विगत ६ महिना देखि पानी हाल्न नराखेका कारण दुवो मर्दै गएको खेलकुदकर्मीले गुनासो गर्नु भएको छ । 

पोखरा रंगशाला भित्र १ अर्ब २८ करोडको लागतमा सबै भन्दा ठुलो लगानीमा केही बर्ष अघि निर्माण गरिएको उक्त फुटबल स्टेडियम अन्तर्गत फुटबल मैदानको समयमै संरक्षण गर्न नसक्नु निकै दुःख लाग्दो कुरा भएको फुटबल प्रेमीहरूले बताएका छन् । 

पोखरा रंगशाला भित्र सबैको आकर्षणको केन्द्रको रुपमा रहेको फुटबल स्टेडियम सहितको फुटबल मैदान समयमै संरक्षण नहुँदा आफूहरू समेत लज्जित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष उज्ज्वल रञ्जितले बताउनु भयो । राखेप अन्तर्गत जिल्ला खेलकुद विकास समिति कास्कीको मातहतमा रहेको उक्त फुटबल मैदान संरक्षण गर्न पटक पटक आग्रह गर्दा खासै सुनुवाइ नभएको उहाँले बताउनु भयो । पोखरा रंगशालाको फुटबल मैदान संरक्षणको लागि समय समयमा पानी हाल्नु पर्नेमा करिब ६ महिना देखि मैदानको बारेमा कसैले पनि चासो नदेखाएको अध्यक्ष रञ्जितले बताउनु भयो । 

पोखरा फुटबल मैदानमा आफूहरू जानको लागि पनि चाबी अर्कोसँग माग्नुपर्ने अवस्थाले गर्दा आफूहरूले चाहेर पनि अहिलेको अवस्थामा पोखरा फुटबल स्टेडियम सहितको फुटबल मैदानको संरक्षणमा ध्यान दिन नसकेको उहाँले बताउनु भयो । 

यस विषयमा जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख सुन बहादुर लामाले उक्त फुटबल मैदानमा पानी हाल्ने मेसिन बिग्रिएका पानी हाल्न नसकेको बताउनु भयो । पोखरा रंगशालाको फुटबल मैदानमा भारत कोलकत्ताको बर्माडा ग्रास (दुबो) ल्याएर रोपे पनि हाल अधिकांश दुवो मर्न थालेको उहाँले बताउनु भयो । 

जिल्ला खेलकुद विकास समिति कास्कीले उक्त फुटबल स्टेडियम प्रयोग गरे बापत प्रति दीनको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको ५५ हजार, राष्ट्रिय स्तरको २५ हजार, प्रदेश स्तरको २० हजार र स्थानीय स्तरको १० हजार शुल्क निर्धारण गरिएको छ । दिल बहादुर गुरुङको संयोजकत्वमा गठित समितिले रंगशालाको सरसफाई, फोहोर व्यवस्थापन, बत्ती, पानी, इन्टरनेट लगायतको व्यवस्थापनको लागि उक्त शुल्क निर्धारण गरेको हो । 

१३ औँ संस्करणको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा भएको महिला फुटबल प्रतियोगिताको लागि लक्षित गरी उक्त फुटबल स्टेडियम निर्माण गरिएको हो । भारतको ग्रेट स्पोट्र्स इन्फ्रा इन्डियाले नेपालको एम.ए.कन्स्ट्रक्सन जावलाखेल ललितपुरको जोइन्ट भेन्चरमा एक अर्ब २८ करोडको लागतमा उक्त प्रोजेक्ट निर्माण गरेको थियो । १८ हजार ५ सय दर्शक क्षमताको फुटबल प्यारापिट निर्माण भए पनि केही भागमा टुटफुट हुन थालेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button