तपाईँ सुन्दै हुनुहुन्छः

विभिन्न मागसहित मेलम्ची बाढीपीडित आन्दोलित

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजना बाढी प्रभावितहरू विभिन्न मागसहित आन्दोलनमा उत्रिएका छन् । २०७८ असार १ गते र साउन १६ गतेको मेलम्ची बाढीका कारण प्रभावितहरूले आफूहरूको माग पूरा नभएको भन्दै आन्दोलन थालेका हुन् ।

यसअघि गठन भएका विभिन्न सङ्घर्ष समितिहरूले खानेपानी आयोजना र बाढीबाट प्रत्यक्ष प्रभावित बनेकाहरूलाई लाभ हुने कुनै पनि माग सम्बोधन गराउन नसकेको भन्दै शनिबार पासाङ लामाको नेतृत्वमा नयाँ सङ्घर्ष समितिको निर्माण गरी विभिन्न मागसहित आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो ।

मेलम्ची आयोजना तथा मेलम्ची बाढीबाट प्रत्यक्ष प्रभावितहरू आफ्नो मागका विषयमा आयोजना सम्बद्ध निकाय, स्थानीय र सङ्घीय सरकारलाई पटक–पटक आग्रह गर्दा पनि माग सम्बोधन नभएकोले पौष २५ गतेबाट मुहानस्थलमा धर्नासहित आयोजनाको काम ठप्प पार्ने गरी आन्दोलनको कार्यक्रम तय गरिएको सङ्घर्ष समितिका सचिव छिरिङ ह्योल्मोले जानकारी दिनुभयो ।

मेलम्ची आयोजना प्रभावित र बाढी पीडितहरूले नदी नियन्त्रणका लागी तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीहरूको संरक्षण गर्नुपर्ने, मेलम्ची बाढी अघि बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिई मेलम्ची करिडोरमा बनाइएका घर, व्यवसायको ऋण मिनाहा हुनुपर्ने, बाढीबाट मृत्यु भएका परिवारलाई प्रति व्यक्ति १० लाख क्षतिपूर्ति दिनुपर्ने, स्थानीय सरकार मार्फत खानेपानीको लेवी उपलब्ध गराउनुपर्ने, नयाँ घर निर्माणका लागि २० लाख अनुदान दिनुपर्ने लगायतका विभिन्न माग राखेका छन् ।

स्थानीयको माग पूरा नगरी मेलम्चीको पानी काठमाडौँ लान नपाइने उनीहरूको भनाइ छ । उनीहरूले बाढी पीडितहरूलाई आयआर्जनका कार्यक्रमहरू लागू गर्न समेत माग गरेका छन् । माग पूरा नभएसम्म आयोजनाको सबै काम ठप्प गर्ने चेतावनी दिँदै आन्दोलन जारी राख्ने मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button