तपाईँ सुन्दै हुनुहुन्छः

‘आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन तिनै तहका सरकारबिच समन्वय आवश्यक’

विराटनगर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले जनतालाई आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन तिनै तहका सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

विराटनगरमा आयोजित नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण कोशी प्रदेशको सार्वजनिक कार्यक्रममा उहाँले गरिब तथा विपन्न वर्गलाई हरेक प्रकारको निःशुल्क सेवा प्रदान गर्न मन्त्रालय लागेको बताउनुभयो ।

पैसा नभएका कारण उपचारको अभावमा कुनै पनि नागरिकको मृत्यु हुन नहुने र उपचार जिम्मेवारी राज्यले लिनुपर्ने भन्नुहुँदै मन्त्री बस्नेतले त्यसो पनि नभए सो अवस्थाका बिरामीको सम्पुर्ण खर्च आफूले बेहोर्ने बताउनुभयो ।

सङ्घीयता कार्यान्वयनसँगै तिनै तहमा अस्पताल सञ्चालनमा आए पनि आवश्यक स्वास्थ्यकर्मीको अभावमा सोचेजस्तो सेवा प्रदान गर्न नसकिएकाले रिक्त रहेका ठाउँहरूका लागि सरकारले २५ देखि ३० हजार कर्मचारीको दरबन्दी खुलाउन लागेको जानकारी उहाँले दिनुभयो ।

उहाँले स्वास्थ्य बिमालाई व्यवस्थित बनाउन स्वास्थ्य बिमा बोर्ड बनाउन लागेको र एक ठाउँमा बिमा गरेका बिमितले देशको कुनै पनि अस्पतालमा सहज रूपले उपचार गर्न पाउने व्यवस्था मिलाउन लागिएको बताउनुभयो ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि प्रदेश सरकारले बजेटमै कोशी प्रदेशका १० वर्ष मुनिका बिरामी बालबालिका निःशुल्क आइसियु समेतको सेवा प्रवाह गर्ने तथा विराटनगरमा शैलजा आचार्य मुटुरोग हृदय उपचार केन्द्र सञ्चालनमा ल्याउन लागेको बताउनुभयो ।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुधा देवकोटाले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले गरिरहेको कार्यबारे जानकारी गराउनुभएको थियो ।

मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्य क्षेत्रको विकासका लागि १० प्रतिशत बजेट छुट्टाउन स्थानीय तहलाई आग्रह गर्नुभयो ।

मन्त्रालयद्वारा आयोजित कार्यक्रममा सङ्घीय तथा कोशी प्रदेशको स्वास्थ्य सूचकाङ्कको अवस्था, भावी रणनीति तथा आगामी दिनमा गरिने कार्यबारे कार्यपत्र प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा कोशी प्रदेशका १ सय ३७ पालिकाका प्रमुख उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य कार्यालयका प्रमुख तथा पालिकाका स्वास्थ्य शाखा प्रमुखहरूको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button