तपाईँ सुन्दै हुनुहुन्छः

जितगढी किल्लाको संरक्षण गर्न राष्ट्रपतिको आग्रह

बुटवल । राष्ट्रपति रामचन्द्र पौडेलले जितगढी किल्ला ठूला साम्राज्यसँग नेपाली सौर्य र कूटनीतिक चातुर्यताले ठूलो बलिदानीबाट देश जोगाएको इतिहासको निशानी भएको स्पष्ट पार्नुभएको छ ।

नेपाली सेनाले पुनःनिर्माण गरेको ऐतिहासिक जितगढी किल्ला उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा आज राष्ट्रपति पौडेलले जितगढीलाई मणिमुकुन्द सेनको दरबार, नुवाकोटगढी, रामापिथेकस क्षेत्र हुँदै सहस्र धारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोड्न सके यसले देशको पर्यटनको विकासमा समेत योगदान दिने बताउनुभयो । उहाँले जितगढीलाई बृहत् बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र, नेपाली वीरताको ऐतिहासिक केन्द्रका रुपमा त्यस वरपरका ऐतिहासिक, पुरातात्त्विक, धार्मिक र सांस्कृतिक महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्न जरुरी रहेको बताउनुभयो ।

उहाँले जितगढी राष्ट्रिय स्वाभिमान र पहिचानको महत्वपूर्ण स्थल भएको उल्लेख गर्दै किल्लाको समयानुकूल प्रचार प्रसार र प्रवर्द्धन गर्दै पर्यटकीय स्थल बनाउन बुटवल उपमहानगरपालिकाले योजनाबद्ध रुपमा काम अगाडि बढाएकोमा आफूलाई खुशी लागेको पनि बताउनुभयो ।

उहाँले जितगढीमा उति बेलाकै झल्को दिने खालको कलात्मक गेट, उस्तै पोसाकका उजिरसिंहको पूर्ण कदको शालिक, उनीसँगै लडेका नेपाली सेनाका १२ कमान्डरको अर्धकदको शालिक र छेउमा विशाल राष्ट्रिय झण्डा फहराउने गरी जितगढीको महत्व र गरिमा नयाँ पुस्तालाई बुझाउने नेपाली सेना र बुटवल उपमहानगरपालिकाको सराहनीय काम भएको बताउनुभयो ।

सो अवसरमा राष्ट्रपति पौडेलले सार्वभौम र स्वाभिमानी नेपाली भनी गर्व गर्न सक्ने आजको दिन वीर नेपाली सेनाले इतिहासमा देखाएको वीरता र सौर्यकै परिणाम भएको भन्दै नेपाली सेनाको इतिहासको प्रशंसा गर्नुभयो । उहाँले नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्दै आएको पनि स्पष्ट पार्नुभयो ।

त्यसअघि रुपन्देहीको नयाँ पुलस्थित मुक्तिनाथ धामको अवलोकन तथा पूजा अर्चना गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button