सूर्य दर्शन सहकारीका भोटे र अर्याल कारागार चलान
कास्की । सूर्य दर्शन सहकारी ठगी प्रकरणमा पूर्व सञ्चालक शिवबहादुर गुरुङ महेन्द्र भोटे र भविश्वर अर्याल पुर्पक्षका लागि कारागार चलान भएका छन् । मङ्गलवार अदालतमा उपस्थित भएका भएका महेन्द्र र भविश्वरलाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि उनीहरू फरार थिए ।

मङ्गलवार बयान गराएर बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश वसन्तजंग थापाको इजलासले महेन्द्र र भविश्वरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । पोखरामा गितेन्द्र (जीवी) राइको समूहले खोलेको सूर्य दर्शन सहकारीमार्फत बचतकर्ताको झण्डै डेढ अर्ब रकम अपचलन गरेको उजुरीका आधारमा जीवी, महेन्द्र भोटेसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
प्रहरीले पक्राउ पुर्जी जारी गरेको भोलिपल्टै भदौ २५ गते पक्राउ परेका सूर्य दर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामै छन् । गत शुक्रबार काठमाडौँबाट पक्राउ परेका सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई पनि सोमबार अदालतले पुर्पक्षका लागि थुनामा राख्ने फैसला गरेको छ ।
सूर्य दर्शन सहकारी ठगी प्रकरणमा जीवीसहित १५ जना अझै फरार छन् । सूर्य दर्शनबाट जीबी समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी खडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा छ ।






प्रतिक्रिया राख्नुहोस्