तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्पले क्षति भएका विद्यालय पुनर्निर्माणबारे शिक्षा समितिमा छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले जाजरकोट भूकम्पबाट क्षति पुगेका विद्यालय पुनर्निर्माणका सम्बन्धमा छलफल गरेको छ । 

समितिको आज सिंहदरबारमा बसेको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले भूकम्पले क्षति पुर्‍याएका सार्वजनिक विद्यालय भवनहरूको पुनर्निमाणको कामलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । 

बैठकमा मन्त्रालयका सचिव सुरेश अधिकारीले जाजरकोट भूकम्पले ४ सय ३३ विद्यालय पूर्णरुपमा र १३ सय १८ विद्यालयमा आंशिक क्षति पुर्याएको जानकारी दिँदै ती विद्यालयहरूको पुनर्निर्माणका लागि करिब ६ अर्ब ८४ करोड रकम आवश्यक पर्ने बताउनुभयो । 

बैठकमा सांसदहरुले भूकम्पले आंशिक क्षति पुर्‍याएका विद्यालय भवनमा विद्यार्थीलाई राखेर पढाउन नहुने भन्दै पुनर्निर्माणको कामलाई सरकारले तीव्रता दिनुपर्ने बताउनुभयो । 

सांसदहरुले अस्थायी टहरामा पढ्दा विद्यार्थीले पाउँदै आएका दिवा खाजा, छात्राहरूका लागि स्यानीटरी प्याडको व्यवस्थाका साथै छात्राका लागि छुट्टै शौचालयसमेत नभएको भन्दै त्यसको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button