१० बुँदे घोषणापत्र जारी गर्दै गुफाडाँडा जलवायु सम्मेलन सम्पन्न

सिन्धुपाल्चोक । बुँदे घोषणापत्र जारी गर्दै मेलम्ची नगरपालिकाद्वारा वडा नम्बर ९ गुफाडाँडामा आयोजित जलवायु सम्मेलन सम्पन्न भएको छ । २०७५ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा जिल्ला समन्वय समितिले प्रथम जलवायु सम्मेलन गरेको थियो । त्यसपछि प्रत्येक वर्ष जनवरी १ तारिखमा जलवायु दिवस मनाइँदै आएको छ । सोही अवसरमा आज नगरपालिकाले १० बुँदे घोषणापत्र जारी गरेको हो ।
कार्यक्रममा नगर प्रमुख आइतमान तामाङले घोषणापत्र जारी गर्दै मेलम्ची नगरपालिकाको आयोजनामा आगामी वर्ष देखि “स्थानीयस्तरमा जलवायु परिवर्तन : जोखिम, असर र असल अभ्यास“ शीर्षक रहेको राष्ट्रियस्तरको जलवायु सम्मेलन, जलवायु पार्क गुफाडाँडामा वार्षिक रुपमा आयोजना गर्ने उद्घोष गर्नुभयो । सो सम्मेलनबाट जलवायु परिवर्तनले स्थानीयस्तरमा पारेको असर, विकास निर्माणमा सृजना गरेको प्रतिकुलता र स्थानीय तहबाट जोखिम न्यूनीकरण, अनुकूलन र उत्थानशीलताका लागि गरिएका असल अभ्यासहरू आदानप्रदान हुनुका साथै जलवायु परिवर्तन र यसका विविध आयामका सन्दर्भमा स्थानीय सरकारहरूको बुझाई अभिवृद्धि हुने र सम्बन्धित सरोकारवाला पक्षहरूलाई ध्यानाकर्षण गराउने लक्ष्य लिइने जारी घोषणापत्रमा उल्लेख छ ।
संघीय र प्रदेश सरकारसंगको समन्वयबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि स्थापित नगर तथा वडास्तरीय विपद् व्यवस्थापन समिति र स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रको निरन्तर क्षमता अभिवृद्धि मार्फत संस्थागत सुदृढीकरणका लागि आवश्यक कदम चालिने, विश्वभरी पानीको श्रोतको रुपमा परिचित मेलम्ची जलाधार क्षेत्र तथा मेलम्ची नगरपालिका भित्रका सम्पूर्ण जलाधार क्षेत्रको सुरक्षा र प्रवर्द्धनका लागि वृक्षारोपण र एकिकृत जलाधार क्षेत्र संरक्षण विशेष कार्यक्रम सञ्चालन गरिने घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको असर न्यूनीकरण गर्न जलवायु उत्थानशील कृषि प्रणालीको विकासमा जोड दिँदै, मौसम परिवर्तनमा आधारित पूर्वानुमान प्रणाली लागु गरी किसानलाई अग्रिम जानकारी गराउने प्रविधि स्थानीय स्तरसम्म विस्तार गरिने, जलवायु परिवर्तनको कारणबाट २०७८ असार १ गते र त्यसपछि मेलम्ची र इन्द्रावती नदीमा आएको विनाशकारी बाढीबाट क्षति भएका पूर्वाधारहरूको पुनर्निर्माण एवं पुनर्स्थापना कार्यलाई द्रुत गतिमा अगाडि बढाउने, आगामी दिनहरूमा निर्माण गरिने निजी तथा सार्वजनिक पूर्वाधार समेतमा हुनसक्ने संभावित विपद् जोखिम पहिचान गरी जोखिम न्यूनीकरण गरिने उल्लेख छ ।
स्थानीयस्तरमा जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धमा जनचेतना अभिवृद्धि गर्न तथा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थीहरूमा विपद् जोखिमको बुझाई अभिवृद्धि गर्नका लागि जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन तालिम केन्द्रको स्थापना गर्नुका साथै जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई स्थानीय पाठ्यक्रममा समावेश गरी जलवायु शिक्षा र विपद् व्यवस्थापनलाई स्थानीय स्तरसम्म पुर्याउन नगरपालिकाबाट विशेष कार्यक्रम सञ्चालन गरिने, विपद् पूर्व तयारी तथा प्रतिकार्यमा क्षमता अभिवृद्धि गर्नका लागि प्रत्येक वडामा २५ जनाको विपद् स्वयंसेवक समूह तयार गरी खोज, उद्धार, प्राथमिक उपचार, राहत वितरण, पुनर्स्थापना र पुनर्निर्माणसँग सम्बन्धित आवश्यक तालिम, उपकरण र व्यवस्थापकीय क्षमता सहितको तत्काल परिचालन गर्न सक्ने जनशक्ति तयार गरिने, जलवायु परिवर्तनले सिर्जना गरेको विपद्जन्य घटनाबाट हुने क्षति न्यूनीकरण गर्न, पूर्व सूचना प्रणालीहरूको स्थापना र सुदृढीकरण गरी जोखिममा रहेका समुदाय र जनधनको क्षति न्यूनीकरण गर्न आवश्यक कार्यक्रमहरू सञ्चालन गरिने आज जारी घोषणापत्रले समेटेको छ ।
त्यस्तै जलवायु परिवर्तनबाट परेको असर र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि विद्यमान व्यवस्थाहरूको अधिनमा रही, विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना र स्थानीय जलवायु अनुकूलन योजना सहित, विपद्का विभिन्न चरणमा अपनाइने रणनीतिहरूलाई एकीकरण गरी तथ्य र तथ्याङ्कमा आधारित, वैज्ञानिक तथा व्यवहारिक एकिकृत स्थानीय जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन योजना निर्माण गरी कार्यान्वयनमा ल्याइने, विपद् एवम् जलवायु उत्थानशील नगर निर्माण गर्नका लागि दिगो विकास लक्ष्य, राष्ट्रिय जलवायु परिवर्तन नीति, विपद् जोखिम न्यूनीकरण राष्ट्रिय नीति, वातावरणमैत्री स्थानीय शासनका प्रारूपहरूलाई नगरपालिकाबाट सञ्चालन गरिने योजना तथा कार्यक्रमहरूमा समावेश गर्दै दिगो, गुणस्तरीय, उत्थानशील र वातावरणमैत्री विकासको सुनिश्चितता गरिने घोषणापत्रमा उल्लेख गरिएको छ ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान निवर्तमान प्रमुख डम्बर अर्याल,उपप्रमुख भगवती नेपाल लगायतले जलवायु परिवर्तनले पारेका असरका बारेमा सचेत रहँदै योजना बद्ध ढंगले अगाडी बढ्नुपर्ने बताउनुभयो । कार्यक्रमको उद्देश्यबारे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेश मिश्रले प्रष्ट पार्नुभएको थियो भने वडा अध्यक्ष किरणदिप खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो । नेपाल शिक्षक महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष कुमार खतिवडाले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रम नगरपालिकाका राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले सञ्चालन गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्