नयाँ वर्ष मनाउन जनकपुरधाम आउने भारतीय पर्यटकको घुइँचो

जनकपुरधाम । अङ्ग्रेजी नयाँ वर्ष मनाउनका लागि जनकपुरधाममा आउने भारतीय पर्यटकहरूको घुइँचो लागेको छ ।
गए रातिदेखि नै जनकपुरधामसहित आसपासको होटलहरु भारतीय पर्यटकले भरिएका छन् । जनकपुरधामका जानकी मन्दिरसहितका अन्य मठ मन्दिरहरूमा पूजापाठ गर्ने भारतीय पर्यटकहरूको घुइँचो लागेको हो ।

आजको दिनमा पूजापाठ गरेको खण्डमा वर्षभरिको दिन राम्रोसँग बित्ने विश्वास भारतीय पर्यटकहरूमा रहेको छ ।
बिहानदेखि अत्यधिक सङ्ख्यामा भारतीय पर्यटकहरू जनकपुरधाम आएका कारणले बढेको भिडलाई व्यवस्थित गर्नका लागि ठाउँ ठाउँमा उल्लेख्य सङ्ख्यामा ट्राफिक प्रहरी परिचालन गरिएको छ भने उनीहरूको सवारी साधनलाई ठाउँ ठाउँमा पार्किङको व्यवस्था मिलाइएको छ ।

खास गरेर महोत्तरीको जलेश्वर तथा जटही भन्सार नाकाबाट भारतीय पर्यटकहरू नयाँ वर्ष मनाउनका लागि जनकपुरधामसहित आसपासको रमणीय स्थलमा आउने गरेका छन् ।
जनकपुरधामका अतिरिक्त महोत्तरीको बर्दिबास, धनुषाको पोखरीया, धनुषाधाम सिन्धुलीको कमलामाई, सिन्धुलीगढी सहितका पर्यटकीय स्थलहरूमा पर्यटकहरूका अत्यधिक भिड लाग्ने गरेको छ । खास गरेर जनकपुरधाममा नयाँ वर्ष मनाउन आउने भारतीय पर्यटकहरूमा विहार, झारखण्ड, उत्तर प्रदेश, दिल्ली, हरियाणा सहितका राज्यबाट आउने गरेका छन् ।

यसैगरी, अङ्ग्रेजी नयाँ वर्ष मनाउनका लागि जनकपुरधाममा रहेको पिकनिक स्थलहरूमा बिहानदेखि आन्तरिक पर्यटकहरूको भिड लागेको छ । जनकपुरधामको मणिमण्डप, मणिपाल शिक्षण कलेज, धनुषाधामका जङ्गल क्षेत्र, धनुषाको कमला ब्यारेज क्षेत्र, जनकपुरधामको नोचा पोखरी र दुग्धमतिमा सर्वसाधारणको भिड लागेको छ ।








प्रतिक्रिया राख्नुहोस्