हत्यामा संलग्न अभियुक्त ३० वर्षपछि पक्राउ

भोजपुर । कर्तव्य ज्यान मुद्दामा संलग्न रहेर फरार रहेका एक जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले ३० वर्षपछि पक्राउ गरी सार्वजनिक गरेको छ ।
घटनामा संलग्न भएर फरार रहेका भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ५ खावाका ४६ बर्षीय पूर्णहाङ राईलाई पुस १४ गते शनिबार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी सुदिपराज पाठकले जानकारी दिनुभयो ।
राईलाई ललितपुरमा बसोबास गर्दै गरेको अवस्थामा फेला पारेर पक्राउ गरी भोजपुर ल्याइएको प्रहरी प्रमुख डिएसपी पाठकले बताउनुभयो ।
२०५० साल मङ्सिर ३ गते राईसहितको संलग्नतामा साविक कोट गाउँ बिकास समितिका राजधन राईको खुकुरी प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।
हत्याका मुख्य प्रतिवादी शुक्रदेव राईको फरार रहेको अवस्थामा मृत्यु भइसकेको जानकारी आएको र सो सम्बन्धमा थप अनुसन्धान जारी राख्दै अन्य संलग्न प्रतिवादीहरूको पनि खोजी कार्य जारी राखेको प्रहरी प्रमुख डिएसपी पाठकले बताउनुभयो ।
फरार रहेर पक्राउ परेका पूर्णहाङलाई भने सोमवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दे सार्वजनिक गरिएको हो ।
२०६१ साल भाद्र २८ गते जिल्ला अदालत भोजपुरबाट पूर्णहाङलाई घटनामा संलग्न रहेको भन्दै तीन बर्ष कैदको सजाय तोकेको थियो । फरार रहेका मुख्य प्रतिवादी शुक्रदेवलाई भने अदालतले २० वर्षको कैद सजाय तोकेको प्रहरीले जनाएको छ ।
२०५० कार्तिक २७ गते लक्ष्मीपूजाको दिन देउसी खेल्ने क्रममा प्रतिवादीहरू शुक्रदेव, पूर्णहाङ लगायत गरी २६ जनाले मृतकका दाजु जाहेरवाला बागधन राईसँग वादविवाद गर्दै राजधनलाई समेत कुटपिट गरेको घटनाका विषयमा मङ्सिर तीन गते छलफल गरी मिलाउने क्रममा पुनः वादविवाद भई राजधनलाई कुटपिट गर्ने क्रममा शुक्रदेव राईले खुकुरी प्रहार गरी कर्तव्य गरी उनको हत्या गरी फरार रहेको घटनाको अवस्था देखिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।







प्रतिक्रिया राख्नुहोस्