सबै दल देश बनाउने मिसनमा लाग्नुपर्छ : महामन्त्री शर्मा

भक्तपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आउने चुनावको चिन्ता छोडेर सबै दल समृद्धिका लागि केन्द्रित हुन आवश्यक रहेको बताउनुभएको छ ।
नेपाली काँग्रेस जिल्ला सङ्गठन शाखा भक्तपुरले आज आयोजना गरेको ४८आँै राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजित प्रवचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले आउने चुनावको चिन्ता छाडेर देश बनाउने साझा मुद्दामा लाग्न आग्रह गर्नुभयो । उहाँले मिसन २०८४ नभई देश बनाउने मिसनमा लाग्नुपर्ने बताउनुभयो ।
चुनावको चिन्ता लिनुभन्दा पनि २०९५ सालसम्म के काम गर्न सकिन्छ भनि विकासको खाका तयार गरी कार्यान्वयन गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
महामन्त्री शर्माले राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र चार पटकसम्म मात्र सांसद बन्न पाउने व्यवस्था जरुरी रहेको बताउनुभयो ।
प्रकृति र संस्कृतिको सुन्दर देश नेपाल कहिल्यै बन्न सक्दैन भन्ने मानसिकताबाट मुक्त हुन जरुरी रहेको बताउँदै देश बनाउन राजनीतिक दल र नागरिक जाग्नुपर्ने उल्लेख गर्नुभयो ।
संविधान सहमतिको साझा दस्ताबेज भएको बताउँदै दलहरुबीचको सहकार्यले शान्ति प्रक्रियाका बाँकी काम पुरा गरी संविधान प्रति अपनत्वको दायरा बढाउँदै समुन्नतिको यात्रामा लम्कनुपर्नेमा जोड दिनुभयो ।
महामन्त्री शर्माले ठुलो जनसङ्ख्याका कारण नेपाली विदेश जाने अवस्थालाई रोक्ने र विदेशमा रहेका नेपाली तत्काल फर्क भन्ने अवस्था नरहेको बताउँदै बरु वैदेशिक रोजगारीको मर्यादा अभिवृद्धि गर्नुपर्ने उहाँको भनाई थियो ।
पार्टीका संस्थापक नेता बीपी कोइरालालाई एमाले, माओवादी केन्द्रले मात्र होइन स्वयं नेपाली काँग्रेसले समेत चिन्न र बुझ्न ढिलाइ गरेको बताउनुभयो ।
बिपीको मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै उहाँले बिपीले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सार्नुभएको दृष्टिकोण अहिले पनि उत्तिकै अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
महामन्त्री शर्माले देशमा केही नभएको हल्ला गरेपनि विकास भइरहेको उल्लेख गर्नुहुँदै देश विकासका लागि अझै गर्नुपर्छ र गर्न सकिन्छ भन्ने विश्वास जगाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ,“गाली गरेरमात्र देश बन्दैन, समन्वय गरेर देश बन्छ ।”








प्रतिक्रिया राख्नुहोस्