बुटवलमा सडक खाना महोत्सव सुरु

बुटवल । अङ्ग्रेजी नयाँ वर्ष २०२४ तथा पुस १५ को अवसरमा पाँचौँ सडक खाना महोत्सव–२०८० शनिवारदेखि बुटवलमा सुरु भएको छ ।
टेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घले ‘नेपाली मौलिक कला, संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवद्र्धन, विकास र रोजगारीको सृजना हाम्रो अभियान’ भन्ने नारासहित हो महोत्सव आयोजना गरेको हो ।
महोत्सवमा परम्परागत नेपाली खानाका परिकारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले बताउनुभयो । उहाँले नेपाल बहुजाती र बहुसांस्कृतिक सम्पदाले भरिएको देश भएकाले खानाका परिकारद्वारा पर्यटकलाई नयाँ स्वाद दिन सकिने र यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।

‘सडकमै खाऊ, सडकमै नाचौँ र सडकमै रमाऊ’ भन्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न मौलिक परम्परागत खानाका साथै जातीय खानाको समेत स्वाद चाख्न पाईने महोत्सव आयोजक समिति सदस्य टङ्क प्रसाद पराजुलीले जानकारी दिनुभयो । महोत्सवले नेपाली खानाको प्रचार प्रसारका साथै टाट पल्टेको होटल व्यवसायलाई समेत प्रवद्र्धन गर्न सहयोग गर्ने उहाँले बताउनुभयो ।
महोत्सवमा छिमेकी मुलुक भारतबाट समेत नेपाली खानाको स्वाद लिन आउनेको भिड लाग्ने गरेको उहाँले बताउनुभयो । “ भारतको यु.पी.बाट नेपाली खानाको स्वाद चाख्न कैयौँ भारतीय पर्यटकहरू आउने गरेका छन् । हामीले खानाको स्वाद मात्रै नभएर त्यसको गुणस्तर, मात्रा र स्वच्छतालाई निकै ध्यान दिएका छौँ ।”, उहाँले भन्नुभयो । पर्यटन प्रवर्द्धनसँगै नेपाली खानालाई विश्व बजारसम्म चिनाउनका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने भएकाले महोत्सव बहुआयामिक रहेको उहाँको भनाई छ ।

महोत्सव सञ्चालन गर्नका लागि ‘बुटवल उपमहानगरपालिका’ र ‘पर्यटन बिकास परिषद्’ ले समेत सहयोग गरेको ।
बुटवल उप–महानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा आयोजना गरिने जुनसुकै मेला तथा महोत्सवहरूले पर्यटकलाई आकर्षित गर्न उप–महानगरपालिकाले सहयोग गर्ने गरेको बताउनुभयो । नेपाल पर्यटकका लागि उपयुक्त गन्तव्य भएको भन्दै नेपाली मौलिक खानाले समेत यसलाई टेवा पुर्याउन सक्ने उहाँले कताउनुभयो ।

खाना महोत्सवका लागि तीनकुनेदेखि नयाँ बसपार्कसम्मको एक किलोमिटर सडकका दायाँ र बायाँ ११० वटा स्टल राखिएका छन् । जहाँ विभिन्न जातजातिका खाना एकै ठाउँमा पाइने गरेको छ । थारु जातिमा प्रचलित घुँगी, ढीक्री, नेवारी जातीको योमरी, मःम, देखि मासको दालबाट बनाइएको जलेबी तथा परम्परागत रुपमा गाउँघरमा पाइने सेलरोटी समेत खान पाईने आयोजकले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्