तपाईँ सुन्दै हुनुहुन्छः

मुलाको ‘सुकुटी’ अर्थात् धजराले धानेको गाउँ 

बागलुङ । कुनै समय चाडपर्व मान्नको लागी ताराखोलाका किसानहरू आफूले उत्पादन गरेको मुलाको धजरा धानसँग साट्न टाढा टाढासम्म पुग्ने गर्दथे  । पर्वतको पाङ,कुश्मा र गलकोटको विभिन्न ठाउँमा पुगेर उनीहरूले मुलाको सिन्की, गुन्द्रुक र चानाहरू धानसँग साट्नु पर्ने बाध्यता उनीहरुसँग थियो । 

अहिले भने यहाँको मुलाको धजराको माग गाउँमै आउन थालेको छ । ताराखोलामा उत्पादित मुलाको धजरा गुन्द्रुक, गान्टे मुला (कोइरा)को धजरा शहरका व्यापारीहरूले गाउँमै आएर खरिद गर्न लागेसँगै यहाँका किसानहरूको धानसँग चाना साट्ने सास्ती हटेको मात्र छैन मुलाको धजरा आम्दानीको राम्रो स्रोत बन्न पुगेको छ । बागलुङको ताराखोला गाउँपालिकामा मुलालाई कलात्मक रुपमा चिरेर धजरा बनाउने प्रचलन छ । यो निकै स्वादिलो हुने भएकोले पछिल्लो समय यसको मागसमेत बढेको हो।

ताराखोलामा मोटर बाटोको विकास हुनुभन्दा पहिले ताराखोलेबासीहरु हिउँदे चाडपर्व अघि अक्षताको जोहो गर्न  हरिचौर , हटिया ,बाग्लुङ्ग ,बलेवा, पर्वत र पाङसम्म धजरा लगेर विभिन्न अन्नपातसँग सटही गर्ने गरेको ताराखोला गाउँपालिका वडा नं. २ अर्गलका पूर्ण बहादुर थापाले विगत सम्झँदै भन्नुभयो   । ‘पहिला पहिला धजरा बेच्न इष्टमित्र, आफन्त तथा नयाँ बजार खोजी गर्दै टाढा जानुपर्थ्यो । गुन्द्रुक लगेर धानसँग साट्थ्यौ,धान गह्रौं हुने भएपछि उतै मिलमा पिँधेर चामल बनाएर ल्याउँथ्यौँ ।’ उहाँले थप्नुभयो–‘के गर्नु उ बेला अहिले जस्तो यसरी घरघरमै चामल किन्न पाइदैनथ्यो, अहिलेजस्तो यहाँ धान खेती पनि हुँदैन थियो’,उहाँले भन्नुभयो । 

सडकको विकास भएपछि  घर घरमै  चामल आउने गरेको बताउँदै उहाँले अहिले धजरापनि नगदमै कारोबार हुने हुँदा पहिला पहिला जस्तो सटही गर्नु नपरेको बताउनुभयाे । अन्नसँग धजरा साट्न छोडिए पनिआफन्तको घर घरमा कोसेलीको रुपमा धजरा पुर्‍याउने चलन भने अझै पनि रहेको ताराखोलाको किसान नर बहादुर घर्तीले बताउनुभयो । 

अहिले पनि ताराखोलाका अधिकांश क्षेत्रमा मुला उत्पादन गरी घर वरिपरि धजरा सुकाएर सजी सजाऊ छ ।  मुलाको धजरा, गान्टे मुलाको कुइराको धजरा सिन्की बनाउन अहिले ताराखोलाको किसान व्यस्त छन् ।   

यहाँका किसानहरुले साउनदेखि भाद्रसम्म रोपिएको मुलालाई मङ्सिर महिनामा धजरा गुन्द्रुक बनाउन सुरु गर्ने गर्दछन् ।

अहिले धजरालाई कहाँ बिक्री गर्ने भन्ने चिन्ता नभएको  र बजारमा लग्नु पर्ने झन्झटसमेत नभएको स्थानीयले बताउनुभयो । मुलाको धजरा गुन्द्रुक व्यवस्थित राख्न सकेमा लामो समयसम्म रहेन हुँदा सड्ने गल्ने डर हुँदैन । स्वास्थ्यको हिसाबले धेरै राम्रो पौष्टिक पनि पाइन्छ ताराखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख उदित कुमार थापाले जानकारी दिनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button