बाँकेको नौवस्ता बाल सुधार गृहमा झडप, अवस्था तनावग्रस्त

बाँके । बाँकेको नौबस्तामा रहेको बाल सुधार गृहमा तीन दिनदेखि जारी झडप अझै नियन्त्रणमा आउन सकेको छैन । सुधार गृहका नायव सुब्बा सबिता रावतले दिएको जानकारी अनुसार विगत तीन दिन यता झडपमा ७ जना घाइते भएका छन् ।
नेपालगन्जस्थित जयेन्दु बाल सुधार गृहमा भएको पुरानो रिसिबीलाई लिएर शुक्रबार देखि दुई समूहबिच झडप सुरु भएको थियो । सरकारले नौवस्तामा १८ वर्षभन्दा माथिका युवालाई केही महिनादेखि राख्न सुरु गरेको थियो । त्यहाँ राखिएका कुल १ सय १६ मध्ये २६ जना युवा नेपालगन्जस्थित जयेन्दु बाल सुधार गृहका हुन् ।सुधार गृहमा जिल्ला बाहिरबाट पनि १८ वर्ष भन्दा माथिका युवालाई पनि ल्याएर राखिएको छ ।
‘जयेन्दु बाल सुधार गृहमा केही महिना अघि दुई समूहबिच झडप हुँदा १ जनाको मृत्यु हुनुका साथै थुप्रै घाइते र तोडफोड भएको थियो । यहाँ ल्याइएका २६ जना मध्ये नै नेपालगन्ज घटनामा संलग्न दुई समूहका हुन, यिनीहरू बीचमै योजना बनेर झडपको घटना भएको हो,’ नायव सुब्बा रावतले जानकारी दिनुभयो।
स्थितिलाई नियन्त्रणमा लिन १ भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको बताउनुभयो । आइतबार बेलुकी पौने ८ बजेसम्म पनि उनीहरू पाकेको खाना समेत नखाएर हो-हल्ला गरिरहेका थिए । शुक्रबारबाट सुरु भएको उनीहरू बीचको झडप केही समय रोकिन्छ, फेरि सुरु हुन्छ, उनीहरूको नजिक जाने अवस्था नै नभएको रावतले बताउनुभयो।
नासु रावतका अनुसार झडपमा परी शुक्रबार र शनिबार ६ जना तथा आइतबार १ जना घाइते भएका छन् । सोही घटनाका कारण सोमबार सुधार गृहमा गर्ने भनिएको कार्यक्रम स्थगित गरिएको समेत उहाँले जानकारी दिनुभयो।







प्रतिक्रिया राख्नुहोस्