तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा र स्वास्थ्य राज्य मातहत ल्याइनु पर्छ : प्रदेश प्रमुख शेरचन 

नवलपरासी पश्चिम् । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले अहिले शिक्षा नीति समयानुकूल  र  व्यवहारिक नभएको बताउनु भएको छ । वैज्ञानिक शिक्षा नीति नै आजको आवश्यकता भएको उहाँले उल्लेख गर्नु भयो ।

केही व्यक्ति र स्वार्थगत समूहका कारण सदनमा लामो समयदेखि शिक्षा बिधयेक पास हुन नसकेको जिकिर गर्नु भयो ।पश्चिम् नवलपरासीको बर्दघाटमा रहेको राजा महात्मा पूर्णभद्र माविको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले शिक्षा र स्वास्थ्य राज्यको मातहतमा ल्याइनु पर्नेमा जोड दिनु भयो ।

“हामीले निर्वाचन प्रणालीलाई खर्चिलो बनायौ पैसाको प्रलोभनमा परेर निर्वाचन जित्ने परिपाटीले स्वार्थगत व्यक्ति सदनमा पुग्दा हरेक ऐनमा उनीहरूकै स्वार्थ बाधक बन्ने गरेको छ” उहाँले भन्नुभयो ।

पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्कनुमा पुरानो प्रणालीको शिक्षा प्रणाली रहेको बताउँदै शेरचनले राज्यले स्पष्ट शिक्षा नीति बनाउनु पर्ने  बताउनु भयो । निजी शैक्षिक संस्था र स्वास्थ्य सस्थाहरु खुलिरहँदा सरकारले नागरिकको स्वास्थ्योपचारको जिम्मा लिनुपर्ने उल्लेख गर्नु भयो ।

फरक प्रसङ्गमा बोल्दै बोल्दै प्रमुख शेरचनले आफू स्वास्थ्य उपप्रधानमन्त्री रहँदा आर्थिक प्रलोभन देखाएर बार्गेनिङ गर्न आउनेहरूलाई बर्खास्त गरेको बताउनु भयो । देशमा भएका कलकारखाना र उद्योगधन्दाहरू बन्द हुँदा स्थानीय उत्पादन र कच्चापदार्थलाई प्रोत्साहन गर्न नसक्दा देशको आर्थिक अवस्था जटिल अवस्थामा पुगेको भन्दै उद्योगमैत्री वातावरण बनाइनुपर्ने धारणा ब्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले २०५८ मै राजतन्त्र समाप्त भइसकेकाले कसैले राजा फर्काउँछु भन्नू असम्भव रहेको बताउँदै कोही भ्रममा पर्न नहुने बताउनु भयो  ।अहिलेकै संविधान र गणतान्त्रिक ब्यवस्थानै उत्कृष्ट भएकाले यसको कार्यान्वयनमा सबै लाग्नु पर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button