तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीयतालाई सुदृढ गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री जम्मकट्टेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले सङ्घीयतालाई सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । बिहीबारबाट हेटौँडामा सुरु भएको तहगत सरकारका अधिकार विषयक छलफल कार्यक्रममा बोल्दै उहाँले अहिले सङ्घीयता कार्यान्वयनको सुरुवात भएकाले केही अप्ठ्यारो देखिए पनि यो व्यवस्था नै सबैभन्दा उत्कृष्ट रहेको बताउनुभयो ।

उहाँले अहिले सङ्घीयता कार्यान्वयनको सुरुवात भएको र यसले राम्रो उपलब्धी दिन थालेको समेत बताउनुभयो । संविधानले तीन तहका सरकारलाई दिएको तहगत अधिकारहरू संस्थागत ढंगले आउन बाँकी रहेकोले अहिले नै सङ्घीयताले केही भएन भन्न नहुने उहाँको भनाई थियो । तीनै तहका सरकारको अहिले काम कारबाही हेर्दा समन्वयमा काम गर्न अप्ठ्यारो भने भइनसकेको उहाँले बताउनुभयो । देशमा राजतन्त्र, जनयुद्ध र विभिन्न आन्दोलनहरू भएपनि विकास, रोजगारी, शिक्षा र स्वास्थ्यमा परिवर्तन लगायतको कुरा जनताले चाहिरहेको उहाँको भनाई थियो । उहाँले सङ्घीयताको अभ्यासको क्रममा आफूहरूले पाएको सीमित अधिकारबाट धेरै काम गरेको समेत उहाँले दाबी गर्नुभयो । 

कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष भिम प्रसाद ढुङ्गानाले सङ्घीयतालाई कार्यान्वयन गर्न नसके समस्या हुने बताउनुभयो । संघ र प्रदेशलाई गुनासो गर्ने भन्दा पनि अब काम गरेर देखाउन उहाँले आग्रह गर्नुभयो । संविधानमा लेखिएका एकल अधिकार र संयुक्त अधिकारका कुरा कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो । 

कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मी देवि पाण्डेले बजेट थोरै स्थानीय तह र प्रदेशलाई दिएर अरू बजेट धेरै संघीय सरकारले राख्दा काम गर्नका लागि समस्या भएको बताउनुभयो । ऐन बनाउने नाममा संघ र प्रदेशले स्थानीय तहको अधिकारमा समस्या उत्पन्न भएको उहाँले बताउनुभयो । 

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल नगरपालिका संघ, र गाउँपालिका राष्ट्रिय महासङ्घको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रदेश र स्थानीय तहका अधिकारका विषयमा कार्यपत्र प्रस्तुती एवम् छलफल हुने बताइएको छ । नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद तिल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका मुख्य सचिवहरू, मुख्य न्यायाधिवक्ता र स्थानीय तहका प्रमुखहरूको सहभागिता रहेका छन् । कार्यक्रम भोलीसम्म चल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button