तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा २५ औँ सडक महोत्सव सुरु

पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराको २५ औँ सडक महोत्सव २०८०  आज (बिहीबार) देखि सुरु भएको छ । महोत्सव उद्घाटनको पूर्व सन्ध्यामा पोखरामा विभिन्न जनजातिको झाँकी सहितको र्‍याली निकालिएको छ ।

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा यही पुष १२ गते देखि १६ सम्म पोखराको लेकसाइडमा आयोजना हुने उक्त महोत्सवमा करिब ५ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्राउने आफूहरूले लक्ष्य राखेको रेवान पोखराले दाबी गरेको छ । यसैबिच उक्त महोत्सवको उद्घाटन पोखरा महानगरका मेयर धनराज आचार्यले गर्नु भएको छ ।    

महोत्सवमा स्वदेशी तथा विदेशीका गरी २५ थरिका खानाका परिकार उपलब्ध गराइने भएको छ । महोत्सवमा चाइनिज, इण्डियन, नेपालीमा थकाली देखि विभिन्न खानाका परिकारहरू उपलब्ध गराइने भएको रेवान पोखराले जनाएको छ । यसपालिको महोत्सव अन्य महोत्सव भन्दा केही फरक ढंगले आयोजना गरिएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले दाबी गर्नु भयो । यसपालिको सडक महोत्सवमा स्थानीय उत्पादन भएका कृषिजन्य देखि हस्तकलाका सामाग्रीहरूको समेत आफूहरूले निःशुल्क स्टल उपलब्ध गराएको उहाँले बताउनु भयो । 

महोत्सवमा कला संस्कृति झल्कने विभिन्न जनजातिको भेषभुषा सहितको झाकी विभिन्न खेलकुद कार्यक्रम, गीत सङ्गीत तथा कला क्षेत्रलाई उच्च प्राथमिकता दिएको अध्यक्ष भट्टराईले बताउनु भयो । महोत्सवमा सिन्धुलीको नौमती बाजा, थारू नृत्य, सहित विभिन्न जनजातिको कला संस्कृति महोत्सवमा प्रदर्शनी गरिएको संस्थाका प्रथम उपाध्यक्ष एवं महोत्सव संयोजक विश्वराज पौडेलले बताउनु भयो । महोत्सवलाई भव्य रुपमा सफल पार्न हाल पोखराको करिब ३ किलोमिटर क्षेत्रमा रंगरोगन, धोजा पोतकाले सजिसजावट समेत गरिएको उहाँले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button