पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गा एकिन गरी उपलब्ध गराउन समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई कोषको नाममा रहेको जग्गा तत्काल एकिन गरी समितिमा उपलब्ध गराउन निर्देशन दिएको छ ।
सिंहदरबारमा आज बसेको समितिको बैठकमा सभापति राजकिशोर यादवले हालै नियुक्त भएका कोषका कार्यकारी निर्देशकको नियुक्ति सम्बन्धि प्रमाणित कागजात र अनुभवको विवरण तीन दिनभित्र समितिमा उपलब्ध गराउन निर्देशन दिनुभयो ।
समितिले गौशालास्थित धर्मशाला सञ्चालक आनन्द होटेलसँग कोषले गरेको सम्झौताको सक्कल विवरण र पशुपति क्षेत्र विकास कोषको गुरुयोजना समितिमा उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।
समितिले पशुपतिनाथमा सञ्चालनमा रहेको विद्युतीय शव दाहलाई थप गर्न निर्देशन दिएको छ ।
बैठकमा सांसदहरुले विश्वभरिका हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथमा सनातनी धर्मावलम्बी पक्षमा कोषले काम गर्नुपर्ने बताउनुभयो ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजु कुमार खत्रीले कोष अन्तर्गत ३ वटा गुठी रहेको, कोषको जग्गा ३ हजार ६ सय ६७ रोपनी ४ आना रहेको, कोषको २ अर्ब ४१ करोड रुपैयाँको मुद्दती खाता सञ्चालनमा रहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्