छानविन समितिले प्रतिवेदन दिएपछि एनसेल प्रकरणबारे आवश्यक निर्णय हुन्छ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एनसेलको शेयर विक्रीका सम्बन्धमा छानविन गर्न गठन गरेको उच्चस्तरीय छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि सरकारले आवश्यक निर्णय लिने बताउनुभएको छ ।
प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री शर्माले गैरकानूनी काम भएको भए कसैलाई पनि नछोड्ने गरी सरकार अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
छानविन समितिले एनसेलको शेयर खरिदका सम्बन्धमा प्रमाण सङ्कलनको काम गरिरहेको जानकारी गराउनुहुँदै सरकारले समयमै नियम कानुनको परिपालना नभएको थाहा पाएर नै छानविन समिति गठन गरेको स्पष्ट पार्नुभयो ।

बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलको शेयर विक्री भएको कुरा सञ्चार माध्यममार्फत थाहा पाएको बताउँदै सो कुरा थाहा पाउनसाथै कारबाहीका लागि पत्राचार गरेको जानकारी गराउनुभयो ।
एनसेलले नेपालमा लगानीको वातावरण छैन भन्दै शेयर विक्री गर्नु गलत भन्दै प्राधिकरणका अध्यक्ष खनालले आजियटा कम्पनीले सञ्चालन गरेको ऐनसेलको सेवा सुरुदेखि नै पारदर्शी नभएको बताउनुभयो ।
बैठकमा अधिकांश सांसदहरुले नेपालमा वैदेशिक लगानीमा सञ्चालित कम्पनी २५ वर्ष पुगेपछि स्वतः नेपाल सरकारको स्वामित्वमा हुने नियम छल्न आजियटाले शेयर विक्री गरेको भन्दै तत्काल कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।
बैठकमा सांसदहरुले सरकारले गठन गरेको समितिमा मात्रै भर नपरी संसदीय समितिमार्फत एनसेलको शेयर विक्रीको मुद्दाको टुङ्गो लगाउनुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्