तपाईँ सुन्दै हुनुहुन्छः

‘पोखराबाट तत्काल अन्तर्राष्ट्रिय हवाई उडान गर्नुपर्छ’

पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखराबाट तत्काल अन्तर्राष्ट्रिय हवाई उडान गर्न माग गर्नुभएको छ ।

तमुहरूको महान् पर्व मुप्री ल्होसार(ल्होछार) का अवसरमा गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको ‘पर्यटन उद्यमशीलता, राजनीतिमा गुरुङहरूको सहभागिता एवम् गुरुङ संस्कार र संस्कृति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडोभन्दा चाँडो अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

करिब २३ अर्बको लागतमा निमार्ण भएको पोखरा विमानस्थलमा एक वर्षमा ४ वटा मात्र अन्तर्राष्ट्रिय चाटर्ड उडान भएको छ ।

गण्डकी प्रदेशमा प्रचुर पर्यटकीय सम्भावना रहेको उल्लेख गर्दै गुरुङले यसको माध्यमबाट रोजगार र आर्थिक लाभ लिन सकिने बताउनुभयो ।

गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशका सल्लाहकार बोबरजंग गुरुङले पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा पर्नुपर्ने बताउँदै गण्डकीमा पर्यटनका माध्यमबाट आयआर्जन एवम् रोजगारी वृद्धिका धेरै सम्भावना रहेको बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन क्षेत्रको विकासमा गुरुङ पर्यटन व्यवसायीहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमित्त प्रमुख नवीन पोखरेलले गुरुङ सम्पदा पदमार्गको प्रवर्द्धनमा बोर्डले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

क्होलासोँथर गाउँपालिका लमजुङका अध्यक्ष सूर्य गुरुङले गुरुङ सम्पदा पदमार्गको विकासका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button