तपाईँ सुन्दै हुनुहुन्छः

डिग्री सकेर गाई पालिरहेकी शारदा

बाँके । गरे के हुन्न, बस दृढ इच्छाशक्ति हुन पर्छ। कोहलपुर वडा नम्बर १२ चपरगौडीकी  शारदा शर्मा पौडेलले छोराले घर व्यवहार धान्छन् र छोरी बिहे भई अर्काको घरमा जान्छन् भन्ने नेपाली सोचाई र परम्परालाई गलत साबित गर्दै आफ्नो कृषि कर्ममा रम्दै गाईपालन गरेर बस्नु भएको छ। उहाँ अहिले ३८ वर्षको हुनुभयो। उहाँका दुई दिदी एक बहिनी र दुई भाइहरू हुनुहुन्छ   । उहाँले स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ। गाईको हेरचाह, आफू र भाइहरूको पढाई लेखाइमा सानै उमेरदेखि लाग्नुभएको शारदा पशुपालनमार्फत बाँके जिल्लाकै उत्कृष्ट गाईपालक कृषकको रुपमा परिचित हुनुहुन्छ ।

शारदाले सिर्जनशील गाई फार्म सञ्चालन गर्नुभएको छ ।  गाई पालनबाट वार्षिक  ५–६ लाख रुपैयाँ बचत हुने गरेको उहाँ बताउनुहुन्छ । १५ हजार रुपैयाँको लगानीमा १८ वर्ष अगाडी सुरु गरेको गाई फार्म आज जिल्लाकै नमूना फार्मकोरुपमा परिचित बन्न सफल भएको छ । 

सुरुमा एउटा उन्नत गाई किनेर गाईपालन शुरु गर्नुभएको शारदाले ३२ वटासम्म गाई पुर्‍याउनुभयो । शारदाको फार्ममा अहिले १६ वटा गाई छन् । त्यसमध्ये ७व टा दुहुना, ५ वटा गाभिन, १ बाछो र ४ बाच्छी छन् । २८ वटा गाई यो बीचमा बिक्री गरेको उहाँले बताउनुभयो । ।अहिले शारदाले प्रतिदिन ७० लिटरसम्म दूध बेच्नुहुन्छ। उहाँको एउटै गाईले बिहान बेलुका गरेर २७ लिटरसम्म दूध दिने गरेको उहाँ बताउनुहुन्छ ।

भारतको आसाममा रोजगारीका क्रममा रहेका बाबुलाई देशमै केही गरौँ भनी कन्भिन्स गरेर फर्किएको र त्यस लगत्तै गाईपालन शुरु गरेको उहाँ बताउनु हुन्छ । गाईपालन शुरु गर्दा कतिले के गर्लान् र केही समय पाल्छन् अनि छोड्छन् भन्थे तर पछि आफू गाई पालनमा सफल भएपछि विभिन्न स्थानबाट गाई पाल्ने तरिका सोध्न मानिसहरू आउन थालेको उहाँ बताउनुहुन्छ । ‘कसले के भन्ला भनेर हामीले गाईपालन थालेका थिएनौँ । त्यसैले हाम्रो ध्यान काममा मात्र केन्द्रित थियो, समयले सबै ठीक गर्दो रहेछ, अहिले कतिपयले तिमीहरू हाम्रा आदर्श हौ पनि भन्दा खुसी लाग्छ ।’उहाँले भन्नुभयो । 

आफ्नो जमिनले नपुगेर उहाँले नजिकै रहेको छिमेकी वडामा जमिन भाडामा लिएर पनि घाँस लगाउनुभएको छ।

गाई फार्ममार्फत आएकै पैसा उहाँको परिवारले विभिन्न काममा लगाएको छ । गाई व्यवसायकै पैसाबाट चप्परगौडीमा घर बनाएको, भाइहरूले र आफूले पनि स्नातकोत्तर सम्मको अध्ययन गरेको, बर्दियामा २ विघा जग्गा किनेको, कोहलपुरको एनटिभी रोडमा घडेरी किनेको र एक भाईको विवाह सम्पन्न गरेको उहाँ बताउनुहुन्छ । गाईपालन व्यवसायलाई राम्रो ढंगले अघि बढाएपछि गाई फार्मलाई विभिन्न सरकारी निकायले पनि सहयोग र प्रोत्साहन गरेको उहाँ बताउनुहुन्छ। सरकारले जिल्ला पशुसेवा कार्यालयमार्फत २०७० सालमा युवालक्षित कार्यक्रम अन्तर्गत २ लाख रुपैयाँ अनुदान दिएको छ भने पशु प्रजनन् केन्द्रले गोठ सुधारका लागि २० हजार रुपैयाँ दिएर उहाँलाई प्रोत्साहित गरेको छ । पशुसेवा कार्यालयले गोबर फ्याँक्ने हुविल ब्यारो दिएको उहाँ बताउनुहुन्छ । ‘गाईलाई खुवाउने घाँसका बिउँहरू नियमित रुपमा पशु सेवा कार्यालयले हाम्रो घरसम्मै ल्याइदिन्छ ।’उहाँले खुसी हुँदै बताउनुभयो । 

 शारदाको घरमा अहिले गाई पालनबारे सल्लाह, सुझाव र परामर्श लिन कोहलपुरका स्थानीय मात्र होइनन् नेपालगञ्ज, बर्दियालगायतका विभिन्न ठाउँबाट मानिसहरू आउँछन् । सबैलाई म झर्को नमानी निःशुल्क रूपमै सल्लाह,सुझाव दिन्छु, शारदा भन्नुहुन्छ– विदेश गएर कमाएको भन्दा बढी घरै बसेर गाइपालन गरेर कमाउन सकिन्छ । उहाँले विदेश गएकाहरूका आफन्तलाई पनि आफूले आफन्तलाई घर फर्काऊ र गाईपालन गर भनेर सुझाव दिएको बताउनुहुन्छ । उहाँले मेहनत र पसिना बगाउनेहरूको लागि नेपालकै माटोमा सुन फलाउन सकिने बताउँदै नेपाल सरकारले हामी जस्ता कृषकलाई अनुदान भन्दा सामाग्रीहरूमा सहुलियत र छुट दिए कृषकलाई राहत पुग्ने उहाँ बताउनुहुन्छ । 

उहाँले अनुदानको नाममा कहिले पनि कृषिकर्म नगरेकाहरू राजनीति पावर र आस्थाको भरमा लाखौँको अनुदान कुम्लाउने अनि अनुदान पाएसी कृषीकर्म नगर्ने बस अनुदानकै लागि देखावटी गर्ने हुँदा आफूजस्तै अन्य कृषकहरूलाई मर्का परेको बताउनुहुन्छ। अब बन्ने नीति तथा कार्यक्रममा संघीय सरकार प्रदेश सरकार या स्थानीय सरकारले कृषकलाई अनुदान होइन दाना, मल अनि आवश्यक पर्ने सामाग्री कृषकको अवस्था पहिचान गरि  निःशुल्क वितरण गर्ने जस्ता  कृषकलाई सहुलियत हुने खालको कार्यक्रम ल्याहाेस् भन्ने उहाँको सुझाव रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button