प्रहरी चौकीमा आगजनी गर्न खोज्दा प्रहरीको गोलीबाट दुई घाइते

जनकपुरधाम । धनुषा जिल्लाको हंसपुरमा एक जनाको मृत्यु भएको आक्रोशमा सुगानिकासमा रहेको ईलाका प्रहरी कार्यालयमा मृतकका आफन्तहरुले आगजनी तथा प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले हवाई फायर गर्दा प्रहरीको गोली लागि दुई जना घाइते भएका छन् ।
गएराति लेनदेनको विषयमा शङ्कर ठाकुर र अरुण मण्डलका बीचमा झैझगडा भएर कुटाकुट भएपछि छोडाउनका लागि पुगेका स्थानीय वर्ष ४५ को दीपनारायण मण्डलको कुटाकुटको क्रममा टाउको फुटेको पूर्व नगरप्रमुख रामज्ञान मण्डलले जानकारी दिनु भयो ।
झगडापछि दुवै पक्ष प्रहरीमा पुग्दा प्रहरीले सम्झाई बुझाई गरि घाइतेलाई उपचार गराउन तथा अन्यलाई भोली आउनका लागि पठाएकोमा मण्डलको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तर मृतक पक्षले प्रहरीले थप कुटपिट गरेको कारणले मृत्यु भएको भन्दै प्रहरी कार्यालयमा रहेको दुई वटा मोटरसाईकलमा आगजनी गर्नुका साथै प्रहरी मागी ढुङ्गामुढा गरेर प्रहरी कार्यालयमा नै आगजनी गर्न खोज्दा प्रहरीले आत्म रक्षाका लागि गोली चलाउँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीको गोली लागेर घाइते भएका वर्ष ३६ को शिवशङ्कर मण्डलको र अन्य एक जना सामान्य रुपमा घाइते भएको धनुषाका प्रहरी उपरीक्षक मित्र बन्धु शर्माले जानकारी दिनु भएको छ । मध्य खालका घाइते भएका शिवशङ्कर मण्डललाई थप उपचारका लागि बुद्ध एअरबाट काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।
अहिले स्थितिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो क्षेत्रमा भारी सङ्ख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गर्ने काम भएको छ ।
यसै बीच धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवा सहितको सुरक्षाकर्मीहरू घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । प्रहरीले मृतक दुई पक्षको कुटपिटमा घाइते भएका उनलाई प्रहरीले नछोईकन उपचारका लागि अस्पताल जानका लागि भनेकोले हिरासतमा मृत्यु भएको कुरामा कुनै सत्यता नभएको प्रहरी उपरीक्षक शर्माले दाबी गर्नु भयो ।
उता हंशपुर नगरपालिकाका प्रमुख प्रदीप यादवले घटनाको विषयमा आफूले जानकारी लिइरहेको बताउँदै आपसी लेनदेनको आधारमा दुई पक्षका बीचमा झगडा भएको र सोही क्रममा मृतक मण्डल घाइते भएको जानकारी भएको बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्