तपाईँ सुन्दै हुनुहुन्छः

जाऊँ है पोखरा अभियानले पोखराको आन्तरिक पर्यटनमा वृद्धि 

पोखरा । अफसिजनमा पनि पोखरा क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आज भन्दा करिब बीस बर्ष अघि सुरु भएको जाऊँ है पोखरा अभियानले हाल पोखरा क्षेत्रको आन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पुगेको व्यवसायीहरूले बताउनु भएको छ । उक्त अभियानले देशका विभिन्न शहरहरुमा टोली जानुले पोखरा क्षेत्रको आन्तरिक पर्यटनमा वृद्धि भएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले दाबी गर्नु भयो । 

आन्तरिक पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्य सहित गत मङ्सिर २९ गतेबाट पश्चिम नेपालमा सुरु भएको ६ दिने जाऊँ है पोखरा अभियान यस बर्ष प्रभावकारी रुपमा सम्पन्न भएको उनले जनाए । उक्त अभियान अन्तर्गत भैरहवा, नेपालगन्ज, धनगढी र महेन्द्रनगरमा पत्रकार सम्मेलन र अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरिएको थियो । ती कार्यक्रममा पर्यटन तथा उद्योग वाणिज्य क्षेत्रका व्यवसायीहरूको उत्साहप्रद रुपमा सहभागिता रहेको सङ्घले जनाएको छ । 

होटल संघ पोखरा नेपाल र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सञ्चालित अभियानमा ती दुई संस्था बाहेक नाट्टा, टान र सञ्चार क्षेत्रको समेत प्रतिनिधित्व रहेको थियो । अभियानको क्रममा आयोजित कार्यक्रममा संघका अध्यक्ष सुवेदीले पश्चिम नेपालका बासिन्दालाई संघका तर्फबाट पोखरा भ्रमणको निमन्त्रणा गरिएको थियो । पोखराका पर्यटक पश्चिम पठाउने र पश्चिमबाट पर्यटक पोखरा भित्र्याउने उद्देश्यलाई पूरा गर्न सिधा हवाई तथा स्तरीय बस सेवा जरुरत पर्ने विषयमा दुवै तर्फका व्यवसायीहरू एकमत हुनु भएको थियो । 

भैरहवामा आयोजित कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न दुवै शहरका व्यवसायी मिलेर सरकारलाई संयुक्त दबाब दिन एकमत देखिएको आयोजक संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले बताउनु भयो । यसैगरी नेपालगन्जमा आयोजित कार्यक्रममा सीमा नाकामा भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्ने क्रममा हैरानी व्यवहोर्नुपर्ने वातावरणको अन्त्य गर्न माग गरेको संघका महासचिव राजेन्द्र ढकालले बताउनु भयो । 

धनगढीमा आयोजित कार्यक्रममा भने पोखरा र धनगढीबिच विगतमा भएको सिधा हवाई सम्पर्क पुनः स्थापित गरिनुपर्ने विषयमा चर्चा भएको थियो । महेन्द्रनगरमा सम्पन्न कार्यक्रममा भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न पोखरा र महेन्द्रनगरविच मिलेर पर्यटकीय प्याकेज विकास गर्नुपर्ने विषयमा चर्चा भएको संघका सचिव पार्वती पाण्डेले बताउनु भयो । अभियानको क्रममा सङ्घले पोखरा र वरपरको भ्रमणका लागि विभिन्न पाँच प्याकेज पनि सार्वजनिक गरेको थियो । 

सो क्रममा संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखराका एक हजार दुई सय होटलमा ४० हजार बेड रहेको, यहाँको पर्यटनमा कूल १५ हजारले रोजगारी पाएको र होटल क्षेत्रमा पाँच अर्ब रुपैयाँ भन्दा बढीको लगानी रहेको जानकारी दिनु भयो । दुई दशक अघि सुरु भएको जाऊँ है पोखरा अभियानकै कारण नेपालीमा घुम्ने बानीको विकास भएको र अहिले पोखरा पुग्ने पर्यटक मध्ये ३५ प्रतिशत हिस्सा नेपालीको हुने गरेको तथ्याङ्क संघका अध्यक्ष सुवेदीले बताउनु भयो । 

कोभिड १९ र बैङ्कको चर्को ब्याजका कारण २५ प्रतिशत व्यवसायी यो क्षेत्रबाट पलायन भएको सुनाउँदै उहाँले बिस्तारै अब पर्यटन लयमा फर्काउन आफूहरूले देश विदेशमा प्रबद्र्धनका कार्यक्रम जारी राखेको जानकारी दिनु भयो । 

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यकालका वरिष्ठ अधिकृत कुन्दन अर्यालले बोर्डले निजी क्षेत्रसँग मिलेर नै पर्यटन प्रबद्र्धनका कार्यक्रम अगाडि बढाउँदै आएको स्मरण गराउनु भयो । उहाँले नेपाल पर्यटन बोर्डको संरचना, गतिविधि र भूमिकाका बारेमा समेत अभियानको क्रममा प्रष्ट पार्नु भएको थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भारतीय पर्यटक झण्झट रहित रुपमा नेपाल छिर्न पाउने व्यवस्था सरकारले गर्नुपर्ने बताउनु भयो। यो विषयलाई परिषद्ले सरकार समक्ष राखिसकेको पनि उहाँले बताउनु भयो । आवश्यकता अनुसार भारतीय पर्यटकले नेपालमा भारतीय मुद्रा ल्याउन पाउने व्यवस्थाका लागि समेत पहल गर्न उहाँले सरकारसँग माग गर्नु भयो । पोखरा र गौतम बुद्ध विमानस्थलबाट यथाशीघ्र अन्तर्राष्ट्रिय उडानका लागि समेत उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो । उक्त अभियानले नयाँ अङ्ग्रेजी वर्षको अवसरमा पोखरामा हुने पोखरा सडक महोत्सवमा समेत निम्तो गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button