तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेशमा रहेका तालहरूको अतिक्रमणलाई नियन्त्रण गर्छौ : मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा रहेका तालहरूको अतिक्रमणलाई नियन्त्रण गर्ने बताउनुभएको छ । 

१९ औँ लेखनाथ महोत्सवको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले औद्योगिक क्षेत्रमा लगाएको लागतमा केही न केही सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

मुख्यमन्त्री पाण्डेले कृर्षि उत्पादनमा अनुदान दिने प्रदेश सरकारको योजनामा सहभागी हुन अनुरोध समेत गर्नुभयो । क्षेत्रमा युवाहरू रहर या बाध्यताले विदेश जानुपरेको र पहाडी क्षेत्रका जग्गा बाँझो बसेको भन्दै उहाँले उत्पादनमा जोडिएर सरकारको सहयोग कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो ।

उहाँले गाँजा लागूपदार्थ मात्र हैन औषधीजन्य पदार्थ पनि हो भन्नुहुँदै यसको लागि वैधानिकता दिने प्रदेश सरकारले तयारी गरेको बताउनुभयो । यो विषयमा सहयोग गर्न प्रतिपक्ष दललाई उहाँले आग्रह समेत गर्नुभयो । गाजाको उत्पादन बढाउने र दुरुपयोग कसरी नियन्त्रण गर्ने भन्ने विषयमा विभिन्न छलफल समेत भएको बताउनुभयो ।

गण्डकी प्रदेशमा घरेलु मदिरा धेरै प्रयोग र उत्पादन हुने गरेको भन्नुहुँदै उहाँले घरेलु मदिरा उत्पादनलाई पनि कानुनी मान्यता दिन प्रदेश सरकार लागिरहेको बताउनुभयो । उहाँले विदेशबाट ठुला मदिरा आयात हुन्छ तर स्थानीय मदिरालाई मान्यता नदिँदा आर्थिक रूपमा समेत यसले प्रभाव पार्ने बताउनुभयो । 

उहाँले प्रदेशको विकासमा दलहरूको सहकार्य उदाहरणीय रहेको बताउनुभयो ।

महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ लेखनाथमा सञ्चालन हुन गइरहेको १९औँ संस्करणको लेखनाथ महोत्सव आज देखि सुरु भएको हो ।

आजदेखि १६ गतेसम्म चल्ने महोत्सवको माध्यमबाट स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन, आवश्यक ज्ञान, सिप, उद्यमशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरूमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरूको प्रवर्द्धन, जातीय भेसभुसा, कला संस्कृति, रीतिरिवाजको जर्गेना, आन्तरिक एवं बाह्य पर्यटकहरू आकर्षण गरी आन्तरिक पर्यटनलाई सहयोग पुर्याईने महोत्सवका प्रचार प्रसार संयोजक एवं लेखनाथ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी ‘राजु’ले जानकारी दिनुभयो ।

महोत्सवले विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दीका कारण थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन तथा पर्यटन प्रवर्द्धन गर्न, देशमा रहेका औद्योगिक उत्पादनलाई बढवा दिन, हस्तकलाका सामानहरूको बजार प्रवर्द्धन र सोको पहिचान गराउन महोत्सव सफल हुने उनले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button