तपाईँ सुन्दै हुनुहुन्छः

बासगढिमा निर्माणाधीन १५ शय्याको अस्पताल बजेट अभावका कारण ढिलाइ

बाँके । बाँसगढी नगरपालिकामा निर्माणाधीन नगर अस्पतालको काममा ढिलाइ भएको छ । बजेट अभावका कारण काममा ढिलाइ भएपछि नगरपालिकाले आफ्नै स्रोत परिचालन गरेर निर्माणकार्य अगाडि बढाउने निर्णय गरेको छ ।

सो अस्पतालका निर्माणका लागि बाँसगढी नगरपालिकाले चालू आवमा २ करोड रुपैयाँ बजेट छुट्याएको छ । संघीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको सो नगर अस्पतालमा सङ्घबाट समयमा बजेट नआएका कारण ढिलाइ भएको निर्माण कम्पनी महालक्ष्मी जय धनञ्जय यादव जेभीका सञ्चालक भरत पौडेलले जानकारी दिनुभयो।

‘आफूहरूले काम नरोकेको समयमै बजेट निकासा नभएका कारण काममा ढिलाइ भएको बजेट अभावकै कारण म्याद थप गर्नुपर्ने अवस्था आएको पौडेलले बताउनुभयो । दुई वर्षमा सम्पन्न गर्नेगरी बाँसगढी नगरपालिकाले ठेकेदार कम्पनी महालक्ष्मी जेभीसँग २०७८ वैशाख ३१ गते ८ करोड ८५ लाख ८२ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सो सम्झौता अवधिमा काम नसकिएपछि फेरि एक वर्षका लागि म्याद थप गरिएको छ ।

थपिएको म्यादमा पनि काम सकिने/नसकिनेमा शङ्कै छ । त्यसमाथि निर्माण लागत पनि बढ्न गएको निर्माण कम्पनीको भनाइ छ ।

निर्माण कम्पनी महालक्ष्मी जेभीले स्थानीय निर्माण कम्पनी जयबागेश्वरी निर्माण सेवालाई सो संरचना निर्माणको जिम्मा दिएको छ । भवनको फाउन्डेसनदेखि प्लास्टरसम्मको काम जयवागेश्वरीले लिएको छ ।

प्लास्टरबाहेक आफूले जिम्मा पाएको सबै काम सकेको जयबागेश्वरीका सञ्चालक रामप्रसाद थारूले बताउनुभयो । ‘वायरिङ र प्लम्बिङका कारण प्लास्टरको काममा अवरोध भइरहेको छ अब आफ्नो जिम्मामा प्लास्टरको काम मात्र बाँकी रहेको बताउनु भयो ।’ वायरिङ र प्लम्बिङको काममा ढिलाइ हुँदा आफूले प्लास्टरको काम गर्न नपाएको चौधरीको भनाई छ।

बजेट अभावकै कारण देखाएर ठेकेदार कम्पनीले म्याद थपको माग गरेको बाँसगढी नगरपालिकाले जनाएको छ । ‘हामीले बेलाबेला अनुगमन पनि गरिरहेका छौँ,’ बाँसगढी नगरपालिकाका इन्जिनियर बलराम पौडेलले भन्नुभयो‘भवन निर्माणमा ७० प्रतिशत भौतिक प्रगति भएको छ ।’

समयमा बजेट निकासा नभएकै कारण कामले गति लिन नसकेको उहाँले बताए । यस वर्ष पनि संघ सरकारबाट ९० लाख मात्र बजेट परेकाले नगरपालिकाले आफ्नै बजेटबाट २ करोड रुपैयाँ सो अस्पतालका लागि छुट्याइएको उहाँले जानकारी दिनुभयो।

अघिल्लो आर्थिक वर्षको अन्त्यतिर बजेट आएका कारण पूरै बजेट खर्च हुन नसकेर फ्रिज भएको बाँसगढी नगरपालिकाका योजना शाखा अधिकृत खड्ग वलीले जानकारी दिनुभयो। ‘अघिल्लो आर्थिक वर्षको जेठको अन्त्यतिर ३ करोड बजेट आएको थियो जसमा केही खर्च भयो, केही बजेट भने फ्रिज भएर गएको वलिको भनाई छ ।’

ठेकेदार कम्पनीले अहिलेसम्म ४ करोड ७१ लाख भुक्तानी लिएको छ । बाँसगढी नगरपालिका–५ स्थित बाँसगढीमा १५ शय्याको साढे तीन तलाको सो अस्पताल निर्माणाधीन छ । अस्पताल अपाङ्गमैत्री हुनुका साथै अस्पतालमा छुट्टै ल्याब, लिफ्ट, अपरेसन थिएटर, इमर्जेन्सी कक्षसहितको संरचना निर्माण हुने अस्पताल अत्याधुनिक र सुविधा सम्पन्न हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button