तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानको दार्मामा २ सय ४१ अस्थायी आवास निर्माण 

सल्यान । चिसोमा त्रिपालमुनि बस्दै आइरहेका दार्माका भूकम्प पीडितका लागि हालसम्म २ सय ४१ अस्थायी आवास निर्माण भएका छन् । 

विभिन्न राजनीतिक दल, स्थानीय र संघ संस्थाले स्वयंसेवक परिचालन गरेर अस्थायी आवास निर्माण गरेका हुन ।

माओवादी केन्द्रले ६७ अस्थायी टहरा र ४८ भग्नावशेष, नेकपाले २४ अस्थायी आवास  र २३ भग्नावशेष हटाएका छन् भने स्थानीय स्वयमले १५० टहरा निर्माण गरेको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले जानकारी दिनुभयो । 

विभिन्न राजनीतिक दल र संघ संस्थाबाट खटिएका स्वयंसेवकले १५ दिन भूकम्प पीडितको घरको भग्नावशेष हटाउने, अस्थायी टहरा निर्माणमा जुटेर फिर्ता भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो भूकम्पको पिडामा सहयोग गर्न कालिकोट लगायत बाह्र जिल्ला र  सल्यानका विभिन्न पालिकाबाट जुन सहयोग भयो त्यसको हामी सधैँ ऋणी नै रहनेछौँ । 

पालिकामा ४ सय स्वयंसेवक परिचालन गर्ने भएपनि माओवादी केन्द्रका १८० र नेकपाका ४५ मात्र स्वयंसेवक परिचालन भएको र अन्यको रेकर्डमा नभएको केसीले बताउनुभयो ।

अस्थायी घर टहरा निर्माणका लागि पहिलो किस्ता बापतको २५ हजार पीडित सबैले लगिसकेको र जनशक्तिको अभावका कारण जुन गतिमा कार्य अघि बढ्नु पर्ने हो त्यसमा केही कमी देखिएको प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले बताउनुभयो । स्थानीय जनशक्तिको अभाव भएपछि जिल्लाका विभिन्न स्थानबाट पुनः स्वयंसेवक आउने तयारी भइरहेको उहाँको भनाइ छ । 

दार्मामा भूकम्पबाट १ हजार १ सय ७९ परिवार विस्थापित भएका थिए । जसमध्ये दुई सय अस्थायी टहरा, एक सय टेन्टमा र एक सय बढी सामान्य मर्मत गरेका घरमा बस्दै आइरहेका छन् भने ५ सय परिवार त्रिपालमुनि बस्दै आइरहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button