नेपाली महिलाले कोदो काटेको तस्वीर विश्वको दोस्रो स्थानमा
नवलपरासी,पश्चिम् । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘इयर अफ मिलेट्स’ फोटो प्रतियोगितामा नेपाली फोटोग्राफर ले खिचेको तस्बिरले दोस्रो स्थान हात पारेको छ । पश्चिम् नवलपरासीको बर्दघाट निवासी व्यावसायिक फोटोग्राफर राज अधिकारीले खिचेको उक्त फोटो नै दोस्रो भएको हो।
विश्वका ५८ देशबाट पठाइएका झण्डै ८०० तस्वीरहरूमध्ये नेपालमा कोदो संरक्षण र कृषिमा महिलाको भूमिकासम्बन्धी तस्वीर दोस्रो स्थान हासिल गर्न सफल भएको हो ।
फोटोग्राफर अधिकारीले स्याङ्जादेखि पोखरा आउने क्रममा पुम्धिभुम्धिकी विष्णु माया बरालले बारीमा कोदो काट्दै गरेको फोटोलाई उक्त प्रतियोगितामा समावेश गराउनु भएको थियो ।
फोटोमा सांस्कृतिक र पौष्टिक महत्वका साथ कोदो नेपाली घरपरिवार, विशेष गरी ग्रामीण क्षेत्रको अभिन्न अङ्ग बनेको र कोदोको संरक्षणमा नेपालका ग्रामीण महिलाहरूको ठूलो भूमिका रहेको झल्किने फोटोग्राफर अधिकारीले क्याप्सन दिनु भएको थियो ।”यो तस्बिरले मलाई मात्र होइन नेपाललाई नै विश्वमा चिनाउन थप मद्दत पुगेको विश्वास लिएको छु ।
“आज कृषि क्षेत्रमा लाग्ने महिला दिदीबहिनी र आम किसानको पौरख पनि यो तस्बिरले झल्काएको छ तसर्थ यो क्षण मेरा लागि मात्र नभएर आम देशवासी र नेपाली कृषकहरूको पनि गौरवको कुरा हो”अधिकारीले रेडियो नेपाल सँग भन्नू भयो ।देशलाई चिनाउन विभिन्न बिद्या र विभिन्न क्षेत्रमा लागेका नागरिकहरूलाई राज्यले उचित वातावरण तयार गरी प्रोत्साहन गर्नु पर्ने फोटोग्राफर अधिकारीको भनाई छ ।
फोटोग्राफर अधिकारी विगत पाँच वर्षदेखि प्रकृति तथा संस्कृति संरक्षण गर्ने अभिप्रायले फोटोग्राफी क्षेत्रमा लागिरहनु भएको छ ।
अधिकारी हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ग्रामीण समाजशास्त्र विषयमा कृषि स्नातकोत्तर अध्ययनरत विद्यार्थी हुनुहुन्छ ।
यो प्रतियोगितामा प्रथम अफ्रिकी फोटोग्राफर जोनाथन रिजले खिचेको तस्वीर प्रथम भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्