तपाईँ सुन्दै हुनुहुन्छः

हिउँदे अधिवेशनका निम्ति द्रुतगतिमा बनाइँदै नयाँ संसद् भवन

काठमाडौँ। सहरी विकासमन्त्री सीता गुरुङले प्रतिनिधिसभाको आगामी हिउँदे अधिवेशन सिंहदरबारस्थित सङ्घीय संसद् भवनबाट सञ्चालन गर्ने गरी तीव्रगतिमा भवन निर्माण भइरहेको बताउनुभएको छ ।

राष्ट्रियसभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा मन्त्री गुरुङले हिउँदे अधिवेशनअघि नै सिंहदरबारस्थित निर्माणाधीन राष्ट्रियसभा र प्रतिनिधिसभाको भवन सम्पन्न गर्ने अठोटका साथ काम भइरहेको जानकारी दिनुभयो ।

मन्त्री गुरुङले मन्त्री निवासको निर्माण सम्पन्न गरेर माघ महिनासम्म हस्तान्तरण गरिने जानकारी दिनुभयो । उहाँले सार्वजनिक खरिद प्रक्रियाले योजनाको काम समयमा नै सम्पन्न गर्न समस्या भएको बताउनुभयो । आर्थिक स्रोतको सुनिश्चितता नहुँदा धेरै आयोजना सम्पन्न हुन नसकेका बताउनुभयो ।

मन्त्री गुरुङले अर्थ मन्त्रालयसमक्ष बजेटका लागि पहल गरिदिन समितिलाई आग्रहसमेत गर्नुभयो । उहाँले ग्यालरी बैठक पुरानै ढाँचामा पुनःनिर्माण गर्न समय लाग्ने बताउँदै त्यसनिम्ति ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

समितिका सदस्यहरुले ‘विकासको लहर सुविधा सम्पन्न सहर’ को नारासहित आधुनिक सुविधा सम्पन्न सहर निर्माण गर्ने अभियानले सोचजस्तो प्रगति हासिल नभएकामा असन्तुष्टि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button