स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न चितवनमा खुल्यो नेपाली जुत्ता घर

चितवन । चितवनको नारायणगढमा नेपाली जुत्ता उद्योगीहरूको नेपाली जुत्ता घर सञ्चालनमा आएको छ । नेपाली जुत्ताको प्रवर्द्धन र रोजगारीमा वृद्धि गर्ने उद्देश्यसहित नारायणगढको विगबजारमा उक्त जुत्ता घर सञ्चालनमा ल्याइएको हो ।
आज नारायणगढको विगबजारमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ र चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले जुत्ता घरको औपचारिक रुपमा उद्घाटन गर्नुभयो । उक्त विगबजार नेपाली जुत्ता घरमा ७वटा उद्योगका जुत्ता बिक्रीका लागि राखिएका छन् ।
सो अवसरमा बोल्दै उवासंघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले स्वदेशी उत्पादनले आर्थिक गतिविधि चलायमान हुनुको साथै रोजगारीमा समेत वृद्धि हुने बताउनु भयो । नेपाली जुत्ता उद्योगीहरूले गुणस्तर वृद्धि गरी विदेश समेत निर्यात गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । चालु पूंँजी कर्जा निर्देशिकाले उद्योगी व्यवसायीलाई समस्यामा परेको बताउँदै उहाँले राज्यले खुल्ला अर्थनीतिलाई प्राथमिकतामा राखेर अबलम्बन गर्नुपर्ने बताउनु भयो ।
चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले जुत्ता चप्पलमा गरिएको देशभरिको शाखा विस्तार अन्य क्षेत्रमा पनि गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाली उत्पादनले गुणस्तरीयमा प्रतिस्पर्धा गरिनुपर्ने बताउँदै उनले नेपाली उत्पादनलाई सबैले प्रवर्द्धन गर्नुपर्ने बताउनु भयो ।
सो अवसरमा बोल्दै फुटवेयर म्यानुफ्याक्चरिङ्ग एशोसियसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले स्वदेशी उत्पादनको प्रवर्द्धन र विदेशबाट आयातित जुत्तालाई निरुत्साहित गर्ने उद्देश्यले चितवनमा शाखा विस्तार गरिएको बताउनु भयो । ‘हामी उद्योगीले उत्पादन अलग अलग गर्ने भएपनि , बिक्री एकै ठाउँमा गर्दै आएका छौँ, उहाँले भन्नुभयो, यो प्रतिस्पर्धा स्थानीय व्यवसायीसँग होइन हामी आफैंसंँग हो । ’
उक्त समूहले हाल ७ वटा उद्योगका जुत्ताहरू बिक्रीमा ल्याएको छ । उक्त समूहले पहिलो शोरुम वैशाख देखि बुटवलमा, दोस्रो शोरुम पोखरामा , तेस्रो शोरुम जनकपुरमा , चौथो काठमाडौँको न्यूरोडमा , पांँचौ ललितपुरको सातदोबाटोमा र छैंटौं शोरुम नारायणगढमा सञ्चालनमा ल्याएको हो । अध्यक्ष घिमिरेले देशैभरि बिक्री कक्ष सञ्चालन गर्ने उद्देश्यसहित शाखा विस्तार गर्दै लगिएको बताउनु भयो । ‘यो बिक्री कक्षमा एउटै छानामुनि ग्राहकले यी सबै ब्राण्डका जुत्ता पनि पाउंँछन , उहाँले भन्नुभयो, यसबाट थप जुत्ताको बजारीकरण हुनुका साथै रोजगारीमा पनि वृद्धि हुन्छ ।’
छिट्टै नै बिर्तामोड, इटहरी, विराटनगर, भैरहवा र कपिलवस्तुमा बिक्री कक्ष विस्तार गर्न लागिएको उनले बताउनु भयो । हाल उक्त समूहले फास्ट वाक, डिजे शु, बिएफ डियर हिल शु, क्रसरोड शु, स्मार्ट शु का १५ भन्दा बढी ब्राण्ड र तीन हजार भन्दा बढी मोडलका जुत्ता चप्पल उत्पादन गरिएको जानकारी दिएको छ । कम्पनीले हाल एक हजार पाँच सय बराबरको जुत्ता खरिदमा चप्पल उपहारको अफर समेत राखेको छ ।






प्रतिक्रिया राख्नुहोस्