स्रोत सुनिश्चित हुन नसक्दा केही महत्वपूर्ण योजनाहरूको निर्माणमा ढिलाइ : मन्त्री गुरुङ

काठमाडौँ । शहरी विकासमन्त्री सीता गुरुङले स्रोत सुनिश्चित हुन नसक्दा केही महत्वपूर्ण योजनाहरूको निर्माण सुरु गर्न नसकिएको बताउनुभएको छ ।
राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकमा शहरी विकासमन्त्री गुरुङले सिंहदरबारस्थित पुरानो संसद् भवनको पुनर्निर्माण स्रोत सुनिश्चित नभएका कारण पुनर्निमाणमा ढिलाइ भइरहेको बताउनुभयो ।
शहरी विकासमन्त्री गुरुङले भवन पुनर्निमाणका लागि ६० करोड रुपैयाँको लागत अनुमान गरिएपनि बजेट प्राप्त हुन नसकेका कारण टेण्डर प्रक्रिया अघि बढ्न नसकेको बताउनुभयो ।
मन्त्री गुरुङले स्मार्ट सिटी अन्तर्गत नयाँ सहरहरु विस्तारमा समेत बजेट अभावका कारण लक्ष्य अनुसार काम हुन नसकेको जानकारी गराउनुभयो ।
शहरी विकासमन्त्री गुरुङले स्मार्ट सिटीको काठमाडौंका हकमा योजना काठमाडौँ उपत्यका विकास प्राधिकरणले अघि बढाइरहेको जानकारी दिनुहुँदै कित्ताकाट लगायतका समस्या समाधानका लागि वैकल्पिक उपाय खोजेर अघि बढ्ने प्रयासमा रहेको बताउनुभयो ।
मन्त्री गुरुङले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको निर्माण द्रुत गतिमा अघि बढिरहेको बताउँदै हिउँदे अधिवेशन नयाँ भवनमा सञ्चालन गर्ने गरी निर्माणको काम अघि बढाएको जानकारी गराउनुभयो ।
बैठकमा सरकारले विभिन्न समयमा दिएका सरकारी आश्वासन समयमा पूरा नभएको भन्दै सांसदहरुले बजेट सुनिश्चित गरेर मात्रै कार्य योजनासहितको योजना अघि बढाउन सरकारलाई सुझाव दिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्