तपाईँ सुन्दै हुनुहुन्छः

प्रविधिको प्रयोगमा अभ्यस्त हुनसके प्रभावकारी नतिजा आउँछ : सचिव राउत

काठमाडौँI रेडियो नेपालमा लेखा, प्रशासन, भण्डारण र इन्जिनियरिङ शाखामा कार्यरत कर्मचारीहरूका लागि ३ दिने लेखा परीक्षण,  खरिद र जिन्सी व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम सुरु भएको  छ । 

केन्द्रीय कार्यालय सिंहदरबारमा आजबाट सुरु भएको तालिमको शुभारम्भ गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले कार्यालयमा काम गर्ने वातावरण तयार  गर्दै राम्रो नतिजा दिन तालिमले मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । 

रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपालका सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका सचिव राउतले पछिल्लो समयमा विकास भएर प्रयोगमा आएका प्रविधिलाई प्रयोग गरी दैनिक कार्यसम्पादनमा अभ्यस्त रहनसके मात्रै कार्य प्रगति हुने विचार व्यक्त गर्नुभयो ।  

उहाँले कर्मचारीहरूमा भएको आन्तरिक ज्ञान, सीप र क्षमतालाई समयअनुसार परिष्कृत गर्दै लानुपर्नेमा जोड दिँदै दैनिक कार्यसम्पादनमा आउन सक्ने समस्या समाधान गर्न पनि कर्मचारीहरू तयार रहनुपर्ने जोड दिनुभयो । 

यस अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालमा कार्यरत कर्मचारीहरूमा थप क्षमता अभिवृद्धि गर्न यस प्रकारको तालिमको आयोजना गरिएको बताउँदै तालिमले चुस्त दुरुस्त सेवा प्रवाहमा सहयोग पुग्ने बताउनुभयो । 

कार्यकारी निर्देशक केसीले दैनिक कार्यसम्पादन गर्नेक्रममा देखिएका अप्ठेराहरू समाधान गर्न र नयाँ प्रविधिको प्रयोग गरी कार्यसम्पादनमा गुणस्तर वृद्धि गर्न तालिमले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । 

३ दिनसम्म सञ्चालन हुने तालिममा विज्ञ प्रशिक्षकहरू चन्द्रकान्त भण्डारी, राजकुमार महर्जन, दाताराम शर्मा र निरोज केसीले प्रशिक्षण दिनुहुनेछ । 

तालिममा रेडियो नेपालको केन्द्रीय कार्यालयका साथै प्रादेशिक प्रसारण कार्यालयहरूमा कार्यरत लेखा, प्रशासन, भण्डारण र इन्जिनियरिङ शाखाका कर्मचारीहरूको सहभागिता रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button