तपाईँ सुन्दै हुनुहुन्छः

विश्व हिन्दु परिषद्ले पच्चिस जोडीको सामूहिक विवाह गराउँदै

जनकपुरधाम । विश्व हिन्दू परिषद्ले आज जनकपुरधाममा पच्चिस जोडी बर बधुको निःशुल्क शुभ विवाह गराएको छ । परिषद् अध्यक्ष सन्तोष साहको सक्रियतामा जनकपुरधामको कलवार धर्मशालामा शुभ विवाहको कार्यक्रम आयोजना गरेको छ । 

भगवान् श्रीराम तथा माता सीताको शुभ विवाह भएको अवसर पारेर जनकपुरधाममा सामूहिक निःशुल्क विवाहको आयोजना गरेको परिषद्ले जनाएको छ । सामूहिक शुभ विवाहका लागि लगन आवश्यक नभएको कारणले शुभविवाहको आयोजना गरेको परिषद्ले जनाएको छ । 

विवाहमा बेहुला तथा बेहुलीका लागि आवश्यक गर्ने कपडा, एक थान पोते सहितका आवश्यक पर्ने सबै सामाग्रीहरू परिषद्ले निःशुल्क रुपमा उपलब्ध गराएको छ । 

विवाहलाई कम खर्चिलो तथा ऐतिहासिक बनाउनका लागि निःशुल्क विवाहका लागि गरिब तथा विपन्न वर्गका बेहुला बेहुलीको छनौट गर्ने काम भएको छ । विवाहमा आउने जन्ती तथा परिवारलाई भोजन तथा आवासको व्यवस्थापन परिषद्ले नै गरेको छ ।

विगत केही वर्ष देखि विश्व हिन्दु परिषद्ले सामूहिक विवाहको आयोजना गर्दै आएको छ । यसले विवाहमा हुने भड्किलो खर्चमा कमी आउनुका साथै अर्थका कारणले विवाह हुन नसकेकाहरूलाई राहत मिल्ने गरेको विवाहमा आएका बेहुली पक्षका आफन्तहरुले जनाएका छन् ।

शुभ विवाहको कार्यक्रम आज साझ देखि कलवार सेवा आश्रममा हुने परिषद्का सहयोगी अमर श्रीवास्तवले जानकारी दिनु भएको छ । विवाह गर्न चाहने बेहुला बेहुलीको उमेर पुगेको हुनु पर्ने भएकाले उमेर खुलेको नागरिकता सहितको आवश्यक कागजपत्र पहिला नै संस्थाले माग गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button