गुलियो महभित्रको तीतो व्यथा

चितवन । भरतपुर–९ का मौरी पालक किसान विष्णुप्रसाद भुषालले व्यावसायिक रूपमै मौरी पालन गरेको २५ बर्ष बढी भइसक्यो । उहाँले यसबीचमा ६० वटा गाई पालेर दूध पनि बिक्री गर्नुभयो । तर दूध बिक्री गरेर सफल हुन्छु भन्ने सपना बिचमै तुहियो । तर उहाँमा मौरीपालन मात्र विकल्प थियो त्यसैले हरेस भने खानु भएन । मौरी पालनलाई नै निरन्तरता दिँदै विस्तार गर्दै लग्नुभयो ।
मौरीपालन गर्दा उहाँले कहिल्यै घाटाको सामना गर्नु परेन । कहिल्यै निराश हुनु परेको थिएन । तर चार दशकको उमेर यात्रामा हिँड्नुभएका भुषालको मन अहिले भने खुशी छैन । ‘के गर्नु कोरोनाका समयमा बरु मह घरमै खोसाखोस हुन्थ्यो तर अहिले पोहोरको मह पनि बिक्री भा छैन ।’ उहाँ मलिन अनुहार लगाउँदै भन्नुहुन्छ ।
मह त बिक्री भएन भएन यस बर्ष त झन उहाँ ठूलो बज्रपातमा समेत पर्नुभयो । ‘मेरो चराउन लगेको मौरीको एक सय वटा घारमा अरिङाल पसेर सबै मार्दियो । बीमा त गरेको थिएँ, तर ६ वटाको मात्र क्षतिपूर्ति पाएँ ।’ देशको यस्तो प्रणाली देखेर उहाँलाई दिक्दार लाग्छ ।
केही वर्षदेखि महको व्यवसाय घट्दै जानु, साथीहरू व्यवसाय छाडेर बिदेसिँदै जानुले एक मन त उनलाई विदेश हानिने मन नभएको पनि होइन । ‘के गरु विदेश जाउंँ यो सबै छाडेर कसरी जाउंँ नजाउंँ मह बिक्री हुँदैन ।’ उहाँ निराश हुनुहुन्छ ।
हुन त उहाँ पुराना र भरतपुर बजारमा बस्नुभएको हुनाले यसअघि महको बजार पाउन त्यति गाह्रो थिएन । ‘म घरबाट पनि बिक्री गर्थे, अनि घरघरमै पनि नेपाली मह भनेर बिक्री गर्न पनि जान्थे ।’ आफ्नो मेहनत प्रति उहाँमा गर्व छ ।
उहाँले हालैमात्र पनि खैरहनी नगरपालिका, सलौलीमा तोरीबारी नजिक राखिएको आफ्नो मौरीको घारको मह काढिसक्नुभएको छ । तर महको उत्पादन राम्रै भए पनि बिक्री हुन्न कि भन्ने चिन्ताले उहाँलाई उत्तिकै सताएको छ । ‘मेरो पनि पोहोर कै मह बेच्न बांँकी छ, साथीहरूको पनि टन्नै स्टक छ ।’ उहाँ सोच मग्न हुनुहुन्छ ।
भुषाल यो व्यवसायको एक प्रतिनिधि पात्र मात्र हुन । चितवनका सयौँ किसानको मह कोरोनापछि घरमै थन्किएको छ । उहाँ जस्तै अर्का मौरी पालक खैरहनीका किसान रामप्रसाद पौडेललाई पनि नेपाली मह नबिक्ला भन्ने चिन्ताले छाएको छ । उहाँ भन्नुहुन्छ ‘सस्तोमा भारतीय बजारबाट नेपालमा मह आइरहेको छ, यहाँको मह बिक्री नभएर डम्पिङ भइरहेको छ ।’ उहाँको पनि तीन टनभन्दा बढी मह गत वर्षको मौज्दातमै छ । आयातित महले बजार लिँदा स्वदेशी महले बजार नपाएको उहाँको गुनासो छ । त्यसो त उहाँ देशको परिस्थिति परिबेसप्रति पनि उत्तिकै जानकार राख्नुहुन्छ । ‘मैले मौरी पालेको ३० बर्ष भइसक्यो यस्तो जटिल समस्या कहिल्यै भोग्नुपरेको थिएन । अब मेरो पछिल्लो पुस्ताले यो व्यवसाय अँगाल्दैन ।’ उहाँको आश मरिसकेको छ । उहाँका एउटा छोरा पनि देशकै परिस्थितिका कारण ईञ्जिनियरको जागिर छाडेर विदेश गएको बेली विस्तार लगाउनुभयो । ‘छोरा त गइसक्यो अब छोरी ज्वाइँ पनि जाने तयारीमा छन् । अब यस्तै हो भने यो देशमा कोही बस्दैन ।’ उहाँ देशको अवस्था देखेर निराश हुनुहुन्छ । दैनिक सयौँ युवाहरू विदेश गएकोले पनि महको उपभोग पनि घट्दै गएको उहाँले फरक अनुमान लगाउनुभयो ।

त्यस्तै, अर्का किसान कृष्णबहादुर बस्नेतको पीडा पनि भुषाल र पौडेलको भन्दा फरक छैन । उहाँ पनि मौज्दात रहेको मह कहिले बिक्री होला भन्ने आशमै हुनुहुन्छ । उहाँसँग पनि अहिले दुई टनभन्दा बढी मह मौज्दात गरेको बताउनुहुन्छ । मह नबिकेकै कारण किसानहरू धमाधम पलायन भइरहेको उहाँको भनाई छ । ‘चितवनमा कोरोनाअघि करिब एक हजार हाराहारीमा किसान थिए, अहिले मुस्किलले पाँच सय पुग्छन् होला ।’ बस्नेतले भन्नुभयो ।
राज्यले मौरी पालक मैत्री नीति नल्याएका कारण विदेशबाट फर्केर मौरी पालेका किसान पुनः विदेशतिर फर्केको उहाँले बताउनुभयो । ‘राज्य उत्पादन गर्नुपर्छ भन्छ, उत्पादन गर्यो बजार पाउँदैन । हाम्रो मह कि राज्यले किनिदिन पर्यो कि आयातित मह आउनबाट रोक्नपर्यो ।’ उहाँको आग्रह छ ।
नेपाल मौरी पालक महासङ्घका अध्यक्ष सुभाषचन्द्र घिमिरेका अनुसार पुरानै मह मौज्दातमा राखेर किसानले नयाँ मह निकालेका छन् । उहाँको भनाइ अनुसार नेपाली महको बजार आयातित महले विस्थापन गरिरहेको छ । चितवनका किसानले करिब २०० टनभन्दा बढी मह मौज्दातमा राखेका छन् । ‘यो बर्ष करिब एक सय टन तोरीको मह निस्किसकेको छ थप मह काढ्न बांँकी नै छ । अझ मौज्दात बढ्छ होला ।’ घिमिरेले भन्नुभयो । स्वदेशी महले ५० प्रतिशत माग मात्र पुरा हुने भएपनि आयातित महले बजार हस्तक्षेप गर्दै गएको किसानको गुनासो छ ।
मौरी पालक संघ चितवनका अनुसार यसवर्ष चितवनमा करिब ६०० मेट्रिक टन मह उत्पादन हुने अनुमान गरिएको छ । चितवनमा करिब ५ सय किसानले मह उत्पादन गरिरहेका छन् । नेपालभर पाँच हजार किसानले मौरीपालन गर्दै आएको तथ्याङ्क छ ।







प्रतिक्रिया राख्नुहोस्