तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालका संवाददाता खत्री “मिडिया सोसाइटी अवार्ड” बाट सम्मानित

म्याग्दी । एक दशक देखि म्याग्दीबाट पत्रकारिता गर्दै आउनुभएका क्रियाशील पत्रकार धीरन बहादुर खत्री “मिडिया सोसाइटी अवार्ड–२०८०” बाट सम्मानित हुनुभएको छ ।

खत्रीलाई आइतबार म्याग्दी मिडिया सोसाइटीको सातौँ वार्षिक साधारण सभाको अवसरमा बेनी नगरपालिका– ४ सिंगामा आयोजित समारोहमा रु. नौ हजार ६८९ नगद सहित खत्रीलाई पुरस्कृत गरिएको हो ।

गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, बेनपा–४ का वडा अध्यक्ष अणबहादुुर खड्का, सोसाइटीका अध्यक्ष कमल खत्री र नेपाल पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले खत्रीलाई नगद, सम्मानपत्र प्रदान र दोसल्लामार्फत सम्मान गर्नुभएको हो ।

खत्री रेडियो नेपालसँगै बेनीबाट प्रकाशन हुने समृद्ध साप्ताहिक, कोरला पोष्ट डटकमका सञ्चालक, म्याग्दी अनलाइन र कारोबार दैनिक लगायत मिडियामा काम गर्दै आउनुभएको छ ।

वि.स. २०७४ मा म्याग्दीबाट सञ्चालित सञ्चार माध्यमका सञ्चालकहरू आबद्ध सोसाइटीले वि.स. २०७५ देखि वर्षमा एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको सचिव अमित विश्वकर्माले जानकारी दिनुभयो । रु. दुई लाखको अक्षयकोषको ब्याजबाट जिल्लामा दश वर्षदेखि काम गरेका एक जना संस्थाका सदस्य पत्रकारलाई पुरस्कृत गर्ने मापदण्ड बनाएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले गण्डकी प्रदेश सरकारले ल्याएको पत्रकारको स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनका लागि सरकारलाई दबाब दिने बताउनुभयो । उहाँले स्थानीय पत्रकार र सञ्चार माध्यमको संरक्षणमा नीतिगत व्यवस्था गर्न पहल गर्ने बताउनुभयो ।

बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुुर खड्का (भगवान्), नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, संस्थापक अध्यक्ष घनश्याम खड्का लगायतले मिडिया उद्योग धरासायी हुँदै जाँदा पत्रकार पलायन हुने क्रम बढेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button