सीमा सुरक्षाका कारण सडक निर्माणमा ढिलाइ : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले पश्चिम क्षेत्रस्थित हुलाकी राजमार्ग कालोपत्र गर्ने सिलसिलामा भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध पुर्याउँदा ढिलाइ भएको बताउनुभएको छ ।
राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री ज्वालाले कञ्चनपुर, बेलौरी सडक कालोपत्रे गर्ने क्रममा भारतीय सुरक्षाकर्मीले अवरोध गरेको स्पष्ट पार्नुभयो ।
मन्त्री ज्वालाले पत्राचारमार्फत कूटनीतिक पहल गरिदिन परराष्ट्रलाई आग्रह गरेको बताउँदै अवरोध हट्नासाथै निर्माणले तीव्रता पाउने बताउनुभयो ।
बैठकमा हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक अजयकुमार मुलले कञ्चनपुरको ६० किमी क्षेत्रलाई २०÷२० किमी क्षेत्रमा विभाजन गरी कालोपत्र काम भइरहेको जानकारी दिनुभयो ।
निर्देशक मूलकाअनुसार यस क्षेत्रका लागि परेको तीन ठेक्कामध्ये एउटाको ९६ प्रतिशत काम पूरा भएको र दोस्रो खण्डको २० किमीमा ठेक्का व्यवस्थापनमा सीमा विवादले काम हुनसकेको जानकारी गराउनुभयो ।
बैठकमा समितिका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाहरू चाँडो निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिँदै सरकारले अवरोध हटाउन पहल गर्नुपर्ने बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्