संकटमा सोनाहा जातिको पेशा

बाँके । एघार वर्षको उमेरदेखि माछा मार्दै आउनु भएका बर्दिया सैजना टापुका नरसिङ सोनाहा यत्तिखेर साह्रै चिन्तित छन् । उमेरले ६५ वर्ष पुग्नुभएका नरसिंह आफ्नो पुर्खौली पेशामा काम गर्न नपाएकोमा चिन्तित भएका हुन् । नरसिङकाे मुख्य पेशा माछा मार्ने भए पनि अचेल कर्णाली नदीमा माछा मार्न पाइदैन । बर्दिया राष्ट्रिय निकुञ्जले यहाँ माछा मार्न रोक लगाएको छ । पुर्खौदेखि माछा मारेर गुजारा गर्दै आउनुभएका सोनाहालाई आफ्नो पेसामा काम गर्न नपाउँदा यत्तिखेर जीवन चलाउनै धौ धौ भएको गुनासो गर्नुहुन्छ ।
नरसिंह जस्तै सैजना टापुका हुननरसिङ सोनाहाको पेशा पनि सङ्कटमा छ । हुनरसिंहको मुख्य पेशा सुन चाल्नु हो । कर्णाली नदीमा सुन चालेर जीविका चलाउँदै आएका हुननरसिङ अब यो पेशाबाट जीवन धान्न नसक्ने अवस्थामा पुगेको बताउनुहुन्छ ।
नदीको बालुवा चालेर फेला पर्ने सुनले गुजारा चलाउँदै आएका हुनरसिंह नदीको जलस्तर घट्दै गएका कारण सुन भेटिन छाडेको बताउनुहुन्छ । बिहानदेखि साँझसम्मै नदीमा पसेर बालुवा चालेपनि अचेल नदीमा सुन भेटिन्न । बालुवामा सुन खोज्दा आफ्ना सबै नङ खिइने र हातखुट्टासमेत पाक्ने गरेका उहाँ बताउनुहुन्छ । जति नै दुःख गरे पनि परिवार पाल्न नसकिने भइयो, त्यसैले यो पेशा छोड्नुको विकल्प छैन उहाँले भन्नुभयो ।

हुनरसिंह र नरसिङ जस्तै बर्दियाको स्थित कर्णाली नदिको तल्लो तटीय क्षेत्रमा बस्ने सबै सोनाहा समुदायको पेशा यत्तिखेर सङ्कटमा छ । नेपालभर गरी करिब दुई हजार मात्र जनसङ्ख्या रहेको सोनाहा समुदायको पेशा सङ्कटमा पर्दै गइरहे पनि यस विषयमा कसैको चासो जान सकेको देखिँदैन । सुन चालेर र माछा मारेर जीविका चलाउँदै आएको यो समुदायको बसोबास खासगरी कञ्चनपुर कैलाली र बर्दिया लगायत पश्चिम तराईमा छ । सोनाहाको उद्गम थलोचाहिँ बर्दिया स्थित कर्णाली नदिको तल्लो तटीय क्षेत्र नै हो।
जीवन निर्वाहको पेशा नै सङ्कटमा पर्दै गएसँगै यहाँका सोनाहाहरू यतिखेर आफ्नो पेशा बदल्ने सोचमा छन् । कर्णाली नदी र यसमा आधारित स्रोतहरू घट्नु र यी स्रोतहरूमा अन्य समुदायको पकट तथा सरकारी संयन्त्रको नियन्त्रणकाकारण उनीहरूको पेशा सङ्कटमा परेको हो ।

नेपालको लोपोन्मुख जाती मध्यको अति सङ्कटापन्न जाती सोनाहा हो । थारु समुदायजस्तो देखिने भए पनि आफ्नै भाषा, संस्कृति, रहनसहनमा रहेका सोनाहहरु यत्तिखेर गाँस–बाससँगै आफ्नो पहिचानको लडाइँ लड्दै आइरहेका छन् ।
सोनाहा समाजका अध्यक्ष शान्ति सोनाहा सोनाहा जातीको पेशा पछिल्लो समय सङ्कटमा परेको बताउनु हुन्छ ।
‘सोनाहा जातीले गर्ने पेशा गैर सोनाहाले गर्न सिकेपछि हामी पछि परेका छौ , सोनाहा पुग्न नसक्ने ठाँउहरुमा गैर सोनाहा जातीहरू पुग्नुहुन्छ । उहाँहरूको जनसङ्ख्या धेरै भएकाले उहाँहरू छिटो र धेरै ठाउँमा पुग्न सक्नहुन्छ । फेरी उहाँहरू बम ब्लास्ट गर्नुहुन्छ करेन्ट लगाउनुहुन्छ अनि विषादीको प्रयोग गर्नुहुन्छ तर हामी त्यसो गर्दैनौ । हाम्रो माछा मार्ने तरिका विशुद्ध जाल खेल्ने हुन्छ ।बम ब्लाष्ट गर्ने करेन्ट लगाउन र विषादी प्रयोग गर्न हाम्रो धर्मले दिँदैन । त्यसैले हाम्रो पेशा सङ्कटमा परेको छ ।’, उहाँले बताउनुभयो ।

उहाँले गैर सोनाहा हरुले खेल्ने गरेको चौरी जालका कारण माछाहरूको उठीवास लगाएको दाबी गर्नुभयो । सोनाहाले भन्नुभयो,‘चौरी जाल धेरै गहिराइ सम्म पुग्ने भएकाले माछाहरू जुन ठाउँमा बस्नु पाउनु पर्ने हो सो ठाउँमा बस्न पाउँदैनन् र जुन ठाउँमा खेल्न पाउनु पर्ने हो सो ठाउँमा खेल्न नपाउनुले माछाहरू भारततर्फ पलाएन भएका हुन ।’ माछाहरूको बस्ने घर अन्य समुदायका मान्छेले प्रयोग गर्ने चौरी जालले भत्काइदिँदा माछाहरू भागेको र नदीमा माछा पाइन छोडेको उहाँको भनाई छ ।
माछा मार्ने पेशा मात्र होइन सोनाहाको सुन चाल्ने पेशापनि सङ्कटमा परेको युवा अगुवा बालकृष्ण सोनाहाको भनाई छ।
बालुवा चालेर सुन खोज्ने र माछा मार्ने एवम् ढुङ्गा चलाउने परम्परागत पेसामा सामुदायिक वन र बर्दिया राष्ट्रिय निकुञ्जले रोक लगाएपछि उनीहरूको सदियौँ देखि चलिआएको परम्परागत पेसा सङ्कटमा परेको उहाँ बताउनुहुन्छ । बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा करिब ७ सय २९जनाको सङ्ख्यामा सोनाहाको बसोबास रहेको छ।

उहाँले लोपोन्मुख जाती भएर सर्वोच्च अदालतले २०७२ मङ्सिर १९ गते नै सोनाहा जातिलाई सूचीकृतको परमादेश दिएको भए पनि सूचीकृत नहुँदा राज्यबाट पाउने सुविधाबाट वञ्चित हुनु परेको बताउनुभयो । लोपोन्मुख जाती भएर पनि नेपालको जातीय सूचीमा नपरेको कुरालाइ बेलाबेलामा उठाउँदा २०७२ सालमा सर्वोच्चले परमादेश जारी गरेपनी मन्त्रिपरिषदमा गुमनाम भएको छ यस्का लागी सबैलाई सरोकार र सहयोगी निकायलाई पहल गरिदिनु पर्यो उहाँले भन्नुभयो ।

सोनाहाका यी दुवै पुर्खौली पेशा सङ्कटमा परेपछि केही परिवारले भने वैकल्पिक पेशा रोज्न थालेका छन् ।
कहिले गिटी बालुवा चाल्ने काम गरेका छन् भने कहिले कपाल काट्ने काम सुरु गरेका छन् ।
उनीहरू आय आर्जनको भरपर्दो स्रोतका रुपमा वैकल्पिक पेशा अँगाल्न तयार छन् तर पुर्खौली पेशा चटक्कै छाड्दा आफ्नो पहिचान हराउने हो कि भन्ने चिन्ता छ।यसका लागि सोनाहका अगुवाहरू अग्रसर हुन थालेका छन् ।गेरुवाका दुखाराम सोनाह पुर्खोली पेशाबाट गुजारा गर्न समस्या भएपछि आफुले कपाल काट्ने पेशा अगाल्नु परेको बताउनुहुन्छ । ‘बाच्नै मुस्किल भएपछि पुर्खोली पेशा भनेर बसिरहन सकिदो रैनछ, मन त अहिले पनि खोलामै जाउँ जाउँ भन्छ, तर के गर्नु खोलामा न माछा पाइन्छ, न मरेर खोजेको सुनले पेट पाल्नै पुग्छ’उहाँले भन्नुभयो ।

सोनाहाको पहिचान नै खोला हो नदी हो। उनीहरूले पानीमै हुर्कन सिके अनि पानीमै बाच्न सिके नदी खोला र यहाँको जैविक विविधताकै एक अभिन्न अङ्ग भएर बसेको राज सोनाहाको भनाई रहेको छ। आफूले आफ्नो आमा बुवासँग हिँड्दै डुल्दै माछा मार्न सिके अब छोरोले नि यसरी नै सिक्ला भनेर पिठ्युँमै छोरा बोकेर माछा मार्ने गरेको उहाँको भनाई रहेको छ।
सोनाहका अगुवाहरू यस्ता सिप जोगाई राख्न अग्रसर भएका छन् ।यसका लागि अहिले देखिएका समस्या हटाउन चाहिँ जरुरी छ।
सोनाहाहरूले अभ्यास गर्दै आएका यस्ता सिप दिगो अनि प्रभावकारी छन् । परम्परागत यी सिपहरू वैज्ञानिक पनि छन् । परम्परा र संस्कृतिका लागि साथै जैविक विविधता प्रकृति अनि सिङ्गो पृथ्वीकै लागि पनि यस्ता सिपहरूको संरक्षण र संवर्द्धन गर्न जरुरी छ।







प्रतिक्रिया राख्नुहोस्