तपाईँ सुन्दै हुनुहुन्छः

सिम्रौनगढमा झडप : गोली लागि एक जनाको मृत्यु

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकामा आज दिउँसो प्रहरीसँग भएको झडपमा एक जनाको मृत्यु भएको छ ।

प्रहरीको गोली लागि सिम्रौनगढ नगरपालिका–१ निवासी २५ वर्षीय लक्ष्मी मुखिया विनको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । प्रहरीको गोली लागि एक जना गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कलैया अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख र वडाध्यक्ष पक्षबिचको विवाद झडपमा परिणत भएसँगै स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ सेल अश्रुग्याँस प्रहारका साथै हवाई फायर गर्‍यो । घटनामा १० भन्दा बढी प्रहरी घाइते भएका छन् ।

सिम्रौनगढ नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूले पाउनुपर्ने तलब, भत्ताको माग गर्दै लामो समयदेखि आन्दोलनरत छन् । ६ महिनादेखि तलब नपाएका शिक्षक, कर्मचारीहरूले नगरपालिकाको गेटमा तालाबन्दी गरी धर्ना समेत दिँदै आएका छन् ।

सिम्रौनगढको अवस्था बिग्रिँदै गएपछि त्यसलाई सम्हाल्न आज अपराह्न जिल्ला प्रशासन कार्यालय बारामा जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button