तपाईँ सुन्दै हुनुहुन्छः

‘विद्यार्थी सामाजिक र सांस्कृतिक परिवर्तनका अगुवा बन्नुपर्छ’

धुलिखेल । शताब्दी पुरुष वरिष्ठ चिकित्सक डा गौरीशङ्करलाल दासले विश्वविद्यालयका दीक्षित विद्यार्थीहरू सामाजिक र सांस्कृतिक परिवर्तनका अगुवा बन्न सक्नुपर्ने बताउनुभएको छ । 

काठमाडौँ विश्वविद्यालयको आज सम्पन्न २९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले गुणस्तरीय शिक्षाका लागि नमूना संस्थाबाट उत्पादित दीक्षित विद्यार्थीहरू नै समाज परिवर्तनका अगुवा हुन् भन्ने उद्देश्यले काम गर्नुपर्ने सुझाव पनि दिनुभयो । 

डा दासले समाज परिवर्तनसँगै देखिने विकृति र विसङ्गतिको अन्त्य गर्न तयार हुनुपर्ने तर्क गर्दै समाजबाट भ्रष्टाचार निर्मूल गर्ने काममा कर्मशील भई लाग्ने वर्ग भनेको पनि विद्यार्थी नै हो भन्नुभयो । समाजमा भ्रष्टाचार र कुरीति बढिरहेको अवस्थामा आफ्नो जीवन चलाउने योग्यता हासिल गर्ने मात्र विद्यार्थीको काम नभएको र समय अनुकूल राज्यले जुटाइदिने सुविधामा नै चुस्त व्यवस्थापन र न्यायोचित वितरणको वातावरणमा काम गर्न सक्नुपर्नेमा सुझाव उहाँले आज दीक्षित भएका विद्यार्थीलाई दिनुभयो । 

देशमा लामो समय चिकित्सा सेवा गर्नुभएका ९९ वर्षीय डा दासले दीक्षित विद्यार्थीहरूलाई अरूको आलोचनालाई स्वागत गर्न सुझाव दिनुभयो । कसैले गरेको आलोचनाबाट आत्तिने नभएर त्यसबाट आफूले सक्ने जति शिक्षा लिन र त्यो आलोचनाबाट आफूलाई सच्याउने बानीको विकास गर्नुपर्ने सुझाव दिनुभयो । साथै कहिल्यै पनि विफलताबाट निराश नभई पाठ सिक्नुपर्ने उहाँको सुझाव थियो । 

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले प्रारम्भदेखि नै काठमाडौँ विश्वविद्यालयले वातावरणीय विज्ञान र इन्जिनियरिङ क्षेत्रमा विभिन्न शैक्षिक कार्यक्रमहरूमार्फत जलवायु परिवर्तनलाई सम्बोधन गरी दिगो विकासलाई प्रवर्द्धन गर्ने काम गरेको बताउनुभयो । 

विश्वविद्यालयमा हाल स्नातक तहदेखि ग्लेसियोलोजी, प्राकृतिक स्रोत, वन्यजन्तु व्यवस्थापन, ऊर्जा प्रणालीको योजना र सञ्चालन जस्ता विषयहरू अध्यापन हुँदै आएको र विद्यावारिधिसम्मको अध्यापन हुँदै आएको छ । 

उपकुलपति थापाले गत वर्ष विद्यार्थी भर्ना दर ७० प्रतिशत मात्रै रहेकामा यस वर्ष स्नातक तहमा उपलब्ध सिट सङ्ख्याको ८५ प्रतिशत भर्ना गर्न सफल भएको बताउनुभयो । नेपाली विद्यार्थीहरू उच्च शिक्षा अध्ययनका लागि विदेश पलायन हुनाले विगतका केही वर्षहरूदेखि नेपालका विश्वविद्यालयमा विद्यार्थी भर्ना दरमा ह्रास आउनु आफैँमा गम्भीर विषय भएको उहाँको भनाइ थियो । 

स्नातकहरूलाई रोजगारीको अनुभूति गराउन सकिएन भने उनीहरूलाई विदेश पलायन हुनबाट पनि रोक्न पनि सकिँदैन भन्ने महसुस गरी उद्योग सहकार्यमार्फत रोजगार योजना सञ्चालन गरेको बताउँदै उहाँले यस वर्षदेखि काठमाडौँ विश्वविद्यालयले एकेडेमिया कार्यको पहलअन्तर्गत शीर्ष स्नातकहरूलाई विश्वविद्यालय वा साझेदार संस्थाहरूमा एक वर्षका लागि रोजगारी सुनिश्चित गर्ने कार्यक्रम समेत ल्याएको जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button