तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा मिटर ब्याजसम्बन्धी ४ सय ५९ उजुरीको छिनोफानो

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा अनुचित लेनदेन मिटर ब्याज सम्बन्धी परेका १ हजार ८ सय ७५ उजुरीमध्ये ४ सय ५९ उजुरी छिनोफानो भई सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा लिखित तथा अनलाइन मार्फत दर्ता भएका १ हजार ८ सय ७५ उजुरीमध्ये दुवै पक्ष बिचको छलफल र सहमतिबाट ४ सय ५९ वटा उजुरी फर्छ्योट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिनुभयो ।

दर्ता भएका उजुरीमध्ये ९ सय १८ उजुरीको छानबिन गर्दा ४ सय ५९ वटामा दुवै पक्षबिच सहमति भएर फर्छ्योट भएको लम्सालले बताउनुभयो । छानबिन पश्चात् ८४ कित्ताको १६ बिघा ६ धुर जग्गा र दुवै पक्षको सहमतिमा ८ करोड ८७ लाख ३५ हजार ६१ रुपैयाँ फिर्ता गराइएको छ ।

मिटर ब्याजीविरुद्ध हाल अनलाइनबाट दर्ता भएका उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गा–जमिन सम्बन्धी रहेका छन् । साहुले थोरै रकम दिएर त्यसबापत बढीको कपाली तमसुक गरेको, दोब्बर तेब्बरसम्म बढीको बैङ्क चेक धितोबापत राखिएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनुभयो ।

उजुरी छानबिनको क्रममा दुवै पक्षबाहेक कपाली वा अन्य कागजात लेख्ने लेखापढी, साक्षीलाई समेत कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गर्ने, आवश्यक प्रमाण खोज्ने र सहमतिका लागि अधिकतम प्रयास गर्ने गरिएको लम्सालले बताउनुभयो ।

छानबिनका क्रममा लेनदेन गर्नेहरूको कागजमा उल्लेख रहेको रकम लेनदेन गर्ने हैसियत तथा आवश्यकता र स्रोत रहे/नरहेको समेत अनुसन्धान गर्ने गरिएको लम्सालको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button