पर्यटकको आकर्षण बन्न सक्छ बर्दघाटको बाउन्नघोला सिमसार

नवलपरासी । वरिपरि जङ्गल बिचमा ठुलो ताल अनि चराचुरुङ्गीका चिरबिर बोली प्रकृतिले दिएको अनुपम उपहार हो बर्दघाटको यो सिमसार क्षेत्र । व्यस्त जीवनशैली अनि कोलाहलपूर्ण दुनियाँ बाट जो कसैलाई पनि आनन्दित तुल्याउने प्राकृतिक मनोरमताले भरिएको यो ठाउँ पनि आन्तरिक पर्यटकको मात्र होइन यो सिमसार क्षेत्रले बाह्य मुलुकका पर्यटकहरूको समेत मन लोभ्याउन सक्छ ।
सिमसार भित्र जल परिचालन र शुद्धीकरण प्रक्रिया निरन्तर चलिरहने हुनाले यसलाई प्रकृतिको मृगौला पनि भन्ने गरिन्छ । विश्वमा भइरहेको जलवायु परिवर्तनले सिमसार क्षेत्रको महत्व थप बढ्दै गइरहेको छ । यसर्थ फेब्रुअरी २ मा विश्व सिमसार दिवस मनाइने गरिन्छ । तर मानव अतिक्रमणका कारण नेपालमा सिमसार क्षेत्र खुम्चिँदै गएको देखिन्छ । जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण प्राकृतिक स्थलका रुपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्नुका साथै मानिसलाई समेत जीवनयापनको श्रोत प्रदान गर्न सक्छ ।
नेपालका धेरै ठाउँहरूमा सिमसार क्षेत्र रहेपनि आम नागरिक, स्थानीयलाई सरोकारवालाहरुले यसको महत्व बुझाउन सकिरहेका छैनन् । सिमसार क्षेत्रलाई मानव जगत सँग जोड्न सरकार सँग अझ मूलतः स्थानीय तहसँग पनि कुनै दीर्घकालीन योजना छैनन् । सिमसार मानव जगतका लागि बहुउपयोगि हो भनेर बुझाउन नसक्दा बर्दघाटको सिमसार क्षेत्र पनि ओझेलमा पर्न सक्ने देखिन्छ ।लुम्बिनी प्रदेश सरकारले बर्दघाटको सिमसार क्षेत्रलाई प्रत्येक वर्षजसो केही रकम बिनियोजन गर्ने गरेको छ । यसको संरक्षण र प्रवद्र्धनमा नगरपालिका पनि लागेको छ ।

यद्यपि प्राय स्थानीय तहसँग यसको संरक्षणका लागि कुनै दीर्घकालीन योजना छैनन् ।र अर्कातिर बजेट अभावका कारण पनि स्थानीय तहले यसको बिकास गर्न नसकिएको बताउँछन् ।मानिसहरू प्राकृतिक सम्पदा भन्दा भौतिक विकासमा दौडिरहँदा प्रकृतिले सिर्जना गरिदिएका स्थलहरूमा कसैको ध्यान पुग्न सकेको छैन । बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले नगरभित्रका प्राकृतिक सम्पदाहरूको प्रवद्र्धन र विकासमा नगरको सीमित श्रोत र साधनले मात्र सम्भव नहुने यद्यपि क्रमिक रुपमा सिमसारको क्षेत्रको विकासका लागि प्रदेश र संघ सरकारसँग पहल गर्ने बताउनुहुन्छ ।
पूर्वपश्चिम राजमार्गदेखि २ किलोमिटरको दुरीमा उत्तरतर्फ बर्दघाट वडा नम्बर १० मा रहेको यो क्षेत्र बाउन्नघोला सिमसारको नामले चिनिन्छ । झन्डै २५ हेक्टर भन्दा माथि फैलिएको यो क्षेत्रमा चिस्यान अर्थात् सिम क्षेत्र ५ हेक्टर जतिमा फैलिएको स्थानीयको भनाई छ । यो सिमसार क्षेत्रलाई दीर्घकालीन योजनामा राखेर संघ र प्रदेश सरकारले चासो देखाएर बृहत्तर योजना अघि सारेर बजेट बिनियोजन गर्नुपर्ने बताउनुहुन्छ बर्दघाट नगरपालिकाका पूर्व नगरप्रमुख धीर शर्मा बस्याल ।

डिभिजन बन कार्यालयबाट केही बजेट बिनियोजन भएर केही पूर्वाधार बने पनि पर्याप्त बजेट अभावमा दीर्घकालीन रुपमा सिमसार जोगाउन चुनौती पनि छ ।बाउन्नघोला सिमसार सम्भवतः जिल्लाकै एक मात्र सिमसार हो । प्रत्येक बर्ष सिमसार दिवस विभिन्न नारामा आधारित रहेर मनाउँदै आए पनि राज्यले सरोकारवाला निकायले यसतर्फ खासै चासो देखाएको पाइँदैन । वनस्पति,जलचर,अन्य जीवजन्तुको रक्षा र पर्यावरणीय सुन्दरताका लागि समेत सिमसार महत्त्वपूर्ण मानिन्छ । स्वच्छ हावा लिन र प्रकृति सँग भुल्न बिहान बाउन्नघोला सिमसारमा केही स्थानीयहरू व्यायाम गर्न आउने गर्छन् । तर प्रचार प्रसारको अभावमा जिल्लाबासी र स्थानीयलाई समेत यो क्षेत्रका बारेमा जानकारी भएको देखिँदैन भने अर्कातिर आम मानिसमा यसको महत्व र सम्भाव्यका बारेमा जानकारी गराइएको पाइँदैन ।
कक्रिटले भरिन थालेको बर्दघाटको भौतिक सौन्दर्यताकलाई यहाँको सिमसारले गिज्याइरहेको छ । गाउँघरमा देखिने चराचुरुङ्गी अचेल बिरलै सिमसारमा मात्र देख्न पाइन्छ ।गाउँभित्र पनि बढ्दो सहरी अभ्यासले थुप्रै सिम क्षेत्र, नदी नाला मासिँदै गएका छन् । जिल्लाकै एउटा मात्र यो सिमसारलाई संरक्षण र प्रवद्र्धन गर्न सके यस क्षेत्रकै पर्यटकीय गन्तव्य बन्न सक्छ । संघ र प्रदेश सरकारले यसको प्रवद्र्धनमा ध्यान दिए बाउन्नघोला सिमसार यो क्षेत्रकै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा आउन सक्दछ ।












प्रतिक्रिया राख्नुहोस्