सकियो आठौँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव

कास्की । जलवायु परिवर्तनले बद्लिँदा हिमाल र हिमाली जनजीवनबारे चिन्तन गर्दै पोखरामा जारी आठौँ पर्वतीय महोत्सव सकिएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा नेपाल पर्वतारोहण सङ्घले बर्सेनि महोत्सव आयोजना गर्दै आएको हो ।
महोत्सवको समापन समारोहमा गण्डकी प्रदेशका अर्थमन्त्री जीतबहादुर आलेमगरले पछिल्लो समय बढ्दो जलवायु परिवर्तनले हिमाललाई चोट पुर्याइरहेको भन्दै चिन्ता व्यक्त गरे । जलवायु परिवर्तनमा नेपालको दोष नभए पनि प्रतिकूलताको असर भोग्नु परिरहेको उहाँको भनाइ थियो ।
अर्थमन्त्री मगरले नेपालको परिचय नै हिमालसँग जोडिएकाले यसलाई बचाएर जानुपर्ने बताउनु भयो । नेपाललाई विश्वमाझ यहाँका हिमाल र हिमाली जीवनशैलीले नै चिनाएकाले यसलाई सम्पत्तिका रुपमा जगेर्ना गनुपर्नेमा जोड दिनु भयो । ‘नेपालको मामिलामा यहाँका हिमाल नै हाम्रा सम्पत्ति हुन् यसलाई जोगाइराख्न जरुरी छ । नेपाल विश्वमा चिनिएको पनि यहाँकै पर्वतले हो,’ उहाँले भन्नु भयो ।
आयोजक नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले नेपालमा पर्वतीय पर्यटन बढाउन र त्यसको महत्व बुझाउन महोत्सव सुरु गरिएको बताउनुभयो । ‘यहाँका पवित्र हिमाल र ट्रेकिङका लागि मुख्य प्रवेशद्वार बनाउन महोत्सव गरिएको हो,’ उहाँले भन्नु भयो ‘प्रत्येक दिन एकदमै सूचनामूलक, सबैले बुझ्ने गरी कार्यक्रमहरू पनि अगाडि बढाएका छौँ ।’
नेपाल पर्वतारोहण संघका प्रमुख कार्यकारी अधिकृत तथा महोत्सवका संयोजक जिनेश सिन्दुराकारले पोखरास्थित पर्वतीय सङ्ग्रहालयमा बर्सेनि महोत्सवसँगै वार्षिक क्यालेन्डर नै बनाएर कार्यक्रम बनाएर लैजाने योजना रहेको सुनाउनु भयो।
महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस भएको थियो । बहसमा सहभागी वक्ताहरूले बद्लिँदो जलवायुलाई रोक्न नसकिने तर, अनुकूलताबारे बहस अबको मुख्य मुद्दा हुनुपर्ने सुझाव राखेका थिए ।
महोत्सवमा किम्फसँगको सहकार्यमा पाँचै दिन पर्वतारोहण र पर्वतीय जीवनबारे वृत्तचित्रसहित कीर्तिमानी आरोहीको फोटो प्रदर्शनी पनि गरिएको थियो ।
महोत्सवकै अवसरमा फरक फरक भूगोलमा एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरी डा इरिका र उनकी छोरी इर्मट्रड हुबाचेकले कैद गरेका तस्वीर पनि प्रदर्शनमा राखिएको थियो । शुक्रबारदेखि ५ दिनसम्म चलेको महोत्सव १० हजार जनाले अवलोकन गरेको सङ्ग्रहालयकी प्रमुख कार्यकारी अधिकृत निर्मला न्यौपानेले जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्