तपाईँ सुन्दै हुनुहुन्छः

हरिहर गुफामा भेटी तथा दान दक्षिणाबाट १० लाख सङ्कलन 

पोखरा । पोखरा २० भलाममा रहेको हरिहर गुफा संन्यास आश्रममा भेटी तथा दान दक्षिणाबाट १० लाख रुपैयाँ सङ्कलन भएको छ । बालाचतुर्दशी पर्वको अवसरमा सोमबार श्रद्धालु भक्तजनहरूबाट आश्रममा भेटी तथा दान दक्षिणाबाट १० लाख रुपैयाँ भन्दा बढी सङ्कलन भएको आश्रमका एक सदस्य महेन्द्रराज पौडेलले बताउनु भयो । 

उहाँका अनुसार ठुलो नोट र आर्थिक सहयोग गरेको मात्र करिब १० लाख रुपैयाँ सङ्कलन भएको हो । बाँकी केही सानो नोट अझै गणना गर्न बाँकी रहेको छ । आश्रममा गत बर्ष करिब ७ लाख ५० हजार आर्थिक सङ्कलन भएको थियो भने यस बर्ष केही वृद्धि भएको हो । सङ्कलन भएको उक्त रकम आश्रमको बर्ष भरीको खर्च व्यवस्थापनमा सहयोग पुग्ने भएको सदस्य पौडेलले जनाउनु भयो । 

उक्त आश्रममा सतविज छर्नको लागि सोमबार बिहान ४ः०० बजे देखि साँझसम्म पोखरा र पोखरा आसपासका श्रद्धालु भक्तजनहरूको उल्लेखनीय रुपमा सहभागिता रहेको आश्रमका स्वामी पुर्यानन्द गिरीले बताउनु भयो । उहाँका अनुसार यस वर्षको बालाचतुर्दशी पर्वको अवसरमा आश्रम परिसरमा १५ हजार भन्दा बढीको सहभागिता रहेको थियो । 

विं सं. २०४० देखि बाला चतुर्दशीको अवसरमा सतबिज छर्ने मेलाको आयोजना गरिँदै आएको मेला प्रचार संयोजक रेशम खत्रीले बताउनु भयो । विं सं १९०६ सालमा तत्कालीन प्रधानमन्त्री श्री ३ जङ्ग बहादुर राणाले हरिहर गुफा क्षेत्रमा रहेको करिब ४० रोपनी जग्गालाई संरक्षण गरी आश्रम बनाउन निर्देश भएदेखि उक्त ठाउँ संरक्षण गरेको आश्रमका रामजी प्रसाद पौडेलले बताउनु भयो ।  आश्रममा हाल ७५ रोपनी क्षेत्रफल जमिन रहेको छ भने उक्त क्षेत्रमा लप्सी र रुद्राश्रका करिब ५ सय भन्दा बढी रुख बिरुवाहरू रहेको समितिले दाबी गरेको छ । 

उक्त आश्रममा बालाचतुर्दशीमा सत्विजारोपण मेला, महाशिवरात्रि मेला, सामूहिक व्रतबन्ध, रुद्राभिषेक आदि, प्रवचन, ज्ञानको महान् बलिदान र पाठको पठन, श्री कृष्णाष्टमी, नवदुर्गा, ऋषिपञ्चमी, रामनवमी, हनुमान जयन्तीमा विशेष पूजा तथा श्रद्धालु भक्तजनको उल्लेखनीय सहभागिता हुने गरेको छ । साथै उक्त आश्रममा महिला र पुरुषको छुट्टाछुट्टै छात्रावास, शौचालय सहित प्रवचन सभाहल सहित २५ शय्या क्षमताको सुविधायुक्त साधक निवास रहेको छ । आश्रममा स्वामी ४, ४ विद्यार्थी सहित केही ज्येष्ठ नागरिकहरू रहनु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button