सुनवर्सीमा माटो शिविरको आयोजना
विराटनगर । कृषि ज्ञान केन्द्रले मोरङको सुनवर्सी नगरपालिकामा माटो शिविर सञ्चालन गरेको छ ।
माटोको उर्वराशक्ति कम हुँदै गएको भन्दै कृषकहरूको मागअनुसार पालिकाको वडा नं. ६ मा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा वडाका १ सय १० जना किसानले माटो परिक्षण गराएका थिए । माटोको नमुना परिक्षण गर्दा अम्लीय तत्त्व बढी देखिनुका साथै नाइट्रोजनको मात्रा कम देखिएको र पोटासको अवस्था मध्यम रहेको कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहले बताउनुभयो ।

खेती लगाउने समयमा अत्यधिक मात्रामा रासायनिक मल तथा विषादी प्रयोगका कारण उर्वराशक्ति कम भएकाले उर्वराशक्ति बढाउन प्रांगरिक मलको प्रयोग गर्न किसानलाई उहाँले सुझाव दिनुभयो । माटोको अवस्था हेरेर डिएपी तथा युरिया मलको प्रयोग गर्न तथा खेतबारीमा कृषि चुन तथा मल उत्पादनका लागि ढैचाको खेती लगाउन समेत उहाँले आग्रह गर्नुभयो ।
अत्यधिक रासायनिक मल तथा विषादी प्रयोगका कारण माटोको उत्पादन क्षमता दिन प्रतिदिन कमजोर हुँदै गएकाले सबै पालिकामा माटो शिविर सञ्चालन गर्नुपर्ने कृषकहरूको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्