तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज मेयर कप साइकल प्रतियोगिताको उपाधि प्रकाश थापालाई

नेपालगञ्ज । छैटौँ नेपालगञ्ज मेयर कप साइकल प्रतियोगिताको उपाधि प्रकाश थापाले जित्नुभएको छ । नेपालगञ्जमा आज सम्पन्न छैटौँ मेयर कपमा एमटीबी ३२ किलोमिटर पुरुषतर्फको उपाधि बुटवलका थापाले जित्नुभएको हो भने काभ्रेका अच्युतकृष्ण खरेल दोस्रो र उदयपुरका निमा शेर्पा तृतीय हुनुभयो ।

एमटीबी महिलातर्फ बाँके बैजनाथकी रुपा थारु प्रथम, नेपालगन्जकी एसी श्रेष्ठ दोस्रो र बैजनाथकी रिमा थारु तृतीय हुनुभएको छ । देशभरिका साइकलयात्री सहभागी रहेको  साइकल  प्रतियोगिताको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले उद्घाटन गर्नुभएको थियो । नेपालगञ्ज  उपमहानगरपालिकाको सहकार्यमा आयोजित प्रतियोगितामा एमटीबी पुरुषतर्फ देशभरका १३ जनाको सहभागिता रहेको थियो ।

त्यस्तै साधारण साइकलतर्फ ८० जना सहभागी भएकोमा राप्तीसोनारीका जुगलाल थारु प्रथम, राप्तीसोनारीकै रमेशकुमार थारु दोस्रो र डुडुवाका विनोदकुमार यादव तृतीय हुनुभयो । साधारण साइकल महिलातर्फ बर्दियाकी इन्दिरा थारु प्रथम, राप्तीसोनारीकी मिनाकुमारी थारु दोस्रो र राप्तीसोनारीकै समिता थारु तृतीय हुनुभयो ।

यसैगरी एमटीबी विशेष दौडमा नेपालगञ्जका लक्ष्मीनारायण शाह प्रथम, राजीव विक्रम शाह दोस्रो र डाक्टर बद्री चापागाईँ तृतीय हुनुभयो । विजयीहरूलाई नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष सतिस निरौला, बाँके जिल्ला साइकिल संघका अध्यक्ष गगन थापाले नगद पुरस्कारसहित प्रमाणपत्र र मेडल वितरण गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button