तपाईँ सुन्दै हुनुहुन्छः

गुमेको ज्योति पुनः पाउँदाको खुसी 

सल्यान । सल्यानको बागचौर नगरपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ९ सय २१ जना लाभान्वित भएका छन् । ग्रामीण बस्तीका स्थानीयलाई घरदैलोमा नै गएर सेवा दिने उद्देश्यका साथ सञ्चालन गरिएको शिविरमा शल्यक्रियापछि ९२ जनाको गुमेको आँखाको ज्योति फर्किएको छ । 

तीनदिनसम्म सञ्चालन भएको शिविरमा मोतियाविन्दुको शल्यक्रियापछि ४२ पुरुष र ५० महिला गरी ९२ जनाले नयाँ ज्योति पाएको बागचौर नगरपालिकाका मेयर जनकराज गौतमले जानकारी दिनु भयो । उहाँका अनुसार ५ जनाको मोतियाविन्दुको शल्यक्रियाका  लागि राप्ती आँखा अस्पताल रक्षाचौर दांग सिफारिस गरिएको छ ।  शिविरमा मोतियाविन्दुको शल्यक्रिया सहित, आँखा परीक्षण, औषधी वितरण लगायत आँखा सम्बन्धी सम्पुर्ण उपचार निशूल्क गरिएको मेयर गौतमले बताउनु भयो । 

आफ्नै गाउँघरमा शिविर आएर आफ्नो गुमेको आँखाको ज्योति फर्किएकोमा निकै खुशी लागेको बागचौर नगरपालिका १२ बाफुखोलाकी रामकली वलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘बुढेशकालमा गाडीमा हिँडडुल गर्न पनि गाह्रो छ । त्यसैले आँखा नदेखेरै घरमै बसी रहेकी थिए । आज फेरी आँखा देख्न पाए ।’ 

आर्थिक अभावकै कारण बाहिर जान नसक्दा मोतियाविन्दुको शल्यक्रिया गर्न नसके पनि अहिले घर नजिकै निःशुल्क शल्यक्रिया गर्न पाउँदा नयाँ संसार देख्न पाएको बागचौर नगरपालिका ७ का लोक बहादुर वलीले बताउनु भयो । 

राप्ती आँखा अस्पताल रक्षाचौर दांग, नेपाल नेत्र ज्योति संघ र एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आर्थिक तथा प्राविधिक सहयोगमा बागचौर नगरपालिकाका तीन स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button