तपाईँ सुन्दै हुनुहुन्छः

अखाद्य बस्तु मिसाएर चुक अमिलो उत्पादन गर्ने तीनवटा उद्योग विरुद्ध मुद्दा दायर

चितवन  । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले चुक अमिलो उत्पादन गर्ने तीनवटा उद्योगविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । 

खाद्य प्रविधिले खैरहनी नगरपालिका–४ स्थित अनिल खनालले सञ्चालन गरेको लक्ष्मी अचार तथा अमिलो उद्योग, खैरहनी–१ स्थित यादव थपलियाले सञ्चालन गरेको पहाडी चुक अमिलो उद्योग र रत्ननगर नगरपालिका–३ स्थित तोपबहादुर आचार्यले सञ्चालन गरेको आचार्य फुड उद्योगविरुद्ध मुद्दा दर्ता गरेको हो । यी उद्योगले चुक अमिलोका नाममा साइट्रिक एसिड, स्टार्स (पिठोजन्य पदार्थ) र क्यारामेल रङ मिसाएर बिक्री गरेको पाइएको छ ।

चुक अमिलोका नाममा अखाद्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्ने उद्योगहरुविरूद्ध मङ्सिर १३ गते मुद्दा दायर भएको हो । स्वास्थ्यमा गम्भीर असर पुग्ने खाद्यसम्बन्धी मुद्दा अदालतमा दर्ता हुने गर्छ । सामान्य मुद्दालाई भने प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ ।

लक्ष्मी अचारले कागती र निबुवाबाट बनेको अमिलो भनी उपभोक्तालाई झुक्याएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख खाद्य अनुसन्धान अधिकृत घननाथ अधिकारीले जानकारी दिनुभयो   । त्यस्तै, आचार्य फुडले पहाडी चुक अमिलो भनी कमसल खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको थियो  ।

‘चुक अमिलोका उद्योगमा अनुगमन गरी नमुना लिएर परीक्षणका लागि ल्याबमा पठाएका थियौँ । चुक अमिलो भनिएको पदार्थमा साइट्रिक एसिड, स्टार्स र क्यारामेल रङमात्रै भएको पुष्टि भएकाले तीन उद्योगविरुद्ध मुद्दा दर्ता गरिएको हो’, उहाँले भन्नुभयो, ‘नपकाईकन खाने खाद्य पदार्थमा क्यारामेल रङ तोकिएको मात्रामा मात्रै मिसाउन पाइन्छ, तर उद्योगहरूले स्टार्टसँग मिसाएर पकाएको पाइयो ।’

उद्योगहरूले खाद्य ऐन, २०२३ को दफा ४ विपरीतको कसुर गरेकाले सोही ऐनको दफा ५(१) बमोजिम अधिकतम सजायको माग दाबीसहित मुद्दा दर्ता गरिएको अधिकारीले बताउनु भयो  । उक्त दफाअनुसार प्रतिवादीलाई पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्छ । खाद्य प्रविधिले बजार अनुगमनका क्रममा भेटिएका चुक अमिलोहरू बरामद गरी नष्ट गर्दै आएको छ । बजारमा भेटिने चुक अमिलोहरू कुनै पनि खानयोग्य नरहेको उहाँको भनाई छ । 

‘हामीले देखेको र जानकारीमा आएकोजति चुक अमिलोका उद्योगहरू बन्द गराएका छौँ । तर, अझै पनि विभिन्न पहाडी जिल्लाबाट ल्याएको भनी लुकीछिपीरुपमा अमिलो बिक्री हुने गरेको पाएका छौँ’, उहाँले भन्नुभयो, ‘अनुगमनका क्रममा देखेकोजति बरामद गरी नष्ट पनि गरेका छौँ । बाहिरी जिल्लाबाट ग्यालिनमा बोकेर ल्याइने र उद्योगले नै उत्पादन गरेका अमिलो भने अझै पनि पूर्णरुपमा नियन्त्रण गर्न सकिएको छैन ।’

यस्तो किसिमको अमिलो खाँदा खाने व्यक्तिलाई एलर्जी हुने, अपच हुने र बान्ता हुनेजस्ता लक्षण देखिने उहाँ बताउँछन् । नियमितरुपमा प्रयोग गर्दा भने क्यान्सरजस्ता घातक रोग लाग्ने उहाँको भनाइ छ ।

चुक अमिलो भनेर बोतलमा प्याकिङ गरी बिक्री गरिने साइट्रिक एसिड विशेषगरी चटपट र पानीपुरीमा प्रयोग हुन गरेको छ । जति अनुगमन भए पनि अधिकांश चटपट पसलले अझै पनि अखाद्य अमिलो प्रयोग गर्दै आएका छन् । जिल्लामा लुकीछिपीरुपमा चुक अमिलो उत्पादन तथा बिक्री वितरण हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button