तपाईँ सुन्दै हुनुहुन्छः

आगलागीमा परी ३ जनाको मृत्यु, ३ जना घाइते

सुनसरी । मोरङको विराटनगर महानगरपालिका–७ स्थितमा रहेको कवाडी पसलमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

हिजो दिउँसो २ बजे सातघुम्ती स्थित कवाडी पसलमा अचानक आगलागी हुँदा विराटनगर–६ का ४० बर्षीय दिपक मण्डल, ५५ बर्षीया सुशीला पासवान र ६४ बर्षीय सुनिता कामतको मृत्यु भएको हो ।  

सुशीला पासवानको घटना स्थलमा नै मृत्यु भएको हो भने मण्डलको उपचारको लागि अस्पताल लैजाने क्रममा र सुनिता कामतको कीर्तिपुर स्थित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।  

आगोमा परी घाइते भएका विराटनगर–६ का ५८ बर्षीय किशोर पासवान, ६० बर्षीया रिता सरदार र कटहरी गाउँपालिका–६ की ३० बर्षीया पिङ्की कामतको कीर्तिपुर स्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । 

घाइतेहरूलाई नेपाली सेनाको एयर एम्बुलेन्सद्वारा उपचारको लागि लगिएको हो भने उक्त आगो ६ वटा दमकल, स्थानीय बासी र नेपाल प्रहरीको सहयोगमा नियन्त्रण गरिएको र आगलागीबाट करिब ४० लाख बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button